मुन्धुममा अध्यात्मिक दर्शनसँगै भौतिक विज्ञान पनि छ : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ/मुन्धुम भित्र खोज्न सके भौतिक विज्ञानको सबै विषय रहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । पृथ्वीको सृष्टि र संरचना कसरी बनेको छ भन्ने कुरा बुझ्न साम्जिक मुन्धुम खोज अध्ययन् गर्न आवश्यक रहेको अङसीमाङले बताउनु भयो ।

 

 

‘साम्जिक मुन्धुम भित्र गहिरो खोज्न अनुसन्धान गर्दा अध्यात्मिक दर्शनसँगसँगै भौतिक विज्ञानका विषयहरु पनि पाइन्छ ।’ वहाँले थप्नु भयो, ‘मुन्धुम बुझ्न दर्शनको गहिराईभित्र छिर्नु पर्छ यो खोज अध्ययन्को लागि प्राज्ञिकहरुलाई जिम्मेवारी आएको छ ।’

 

प्राज्ञिकहरु बसेर मुन्धुमी भाषाहरुको निर्माण गरिएपछि मात्र साहित्यको विकास र विस्तार हुने समेत अङसीमाङले बताउनु भएको छ । भाषा, लिपि र साहित्यको लागि इतिहासकार इमानसिं चेम्जोङसँग थुप्रैपटक छलफल गरेको प्रंसग जोड्नुहुँदै वहाँले साहित्यकार विवि मुरिङलासँग भाषा विकासको विषयमा चिठी आदानप्रदान गरेको कुरा सुनाउनु भयो ।

 

 

मंगलबार आयोजित किरात साम्नी यम्बुगेन समितिका प्राज्ञिकहरुलाई जिम्मेवारीको समथ ग्रहण कार्यक्रमको अवसरमा आशीर्वचन दिनुहुँदै अङसीमाङले सो कुरा बताउनु भएको हो । किरात धर्म दर्शन, भाषा, लिपि र मुन्धुमी साहित्यको उत्थान र विकासका लागि गठन गरिएको प्राज्ञिकहरुको समूह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) को कूलपतिमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन रहनु भएको छ ।

 

 

सपथ ग्रहण कार्यक्रममा यम्बुगेनका उपकूलपति तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, उपकूलपति तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम र उपकूलपति नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरिचन्द्र लाओती रहनु भएको थियो ।

 

त्यसैगरी सदस्य सचिव भगिहाङ नेम्बाङ, सदस्यहरु माङमिङसोहाङ लिङदेन, लछामी सेर्मा, सेर्मा साम्जीरी सेमी, आङबुहाङ अबोध अविरल, भीम गुरुङ उपस्थित रहनु भएको थियो । भने, लेखकहरुमा खड्ग सङबाङफे, बुद्धहाङ नेम्बाङको उपस्थिती रहेको थियो ।

 

 

सो कार्यक्रममा यम्बुगेनका सल्लाहकार तथा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, गुरु निजी सचिव खडक साँबा लगायतको उपस्थित रहेको थियो ।