थिबोङहाङ याक्थुङहाङसाहरु एकता हुनुपर्छ : अङसीमाङ लिङदेन आत्मानन्द

माङसेबुङ/थिवोङहाङ याक्थुङहाङसाहरु एकता हुनपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘थिबोङहाङ याक्थुङहाङसाहरुलाई पाप र श्राप परेकोले गर्दा एकता हुन सकिरहेको छैनौं ।’

 

 

शुक्रबार इलामको माङसेबुङमा अवस्थित गुरु निजी आश्रममा सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमा आप्लुङगेन ताङसेप सेवा नु माङहुप (साकमुरा) वादेम्मा सेवा २०७९ को तयारीको लागि आयोजित कार्यक्रममा माङ आशीर्वचन प्रदान गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।

 

 

माङ आशीर्वचनकै क्रममा आङसीमाङले भन्नुभयो, ‘तमोर नदीमा सेवा गर्नु पर्छ । तमोरमा गएर १ करोड ५० लाख बत्ति बालेर साक्मुरा बगाउनु पर्छ । तमोर खोला माङबाट शक्ति मागौं अनि मात्र हाम्रो ज्ञानको ढोका खुल्दै जान्छ र थिवोङ याक्थुङहाङहरु एकतामा बाँधिन सक्छौ ।’ वहाँले थप्नु भयो, ‘माङथिम र हाङथिमको लागि कुम्मायकमा सेवा गरेर शक्ति वरदान माग्नु पर्छ । तपाईहरुको लागि म शक्ति मागि दिन्छु ।’

 

‘यासोकमा सावायेहाङको चोत्लुङको लागि ढुङगा गाड्नु पर्छ’ अङसीमाङले भन्नु भयो, ‘यासोकमा सात दिनसम्म सेवा लगाउनु पर्छ । नाम्धुङ लाधुङ सेमी सेवा गर्नु पर्छ र सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमाको लागि शक्ति माग्नु पर्छ ।’ सात दिन सम्म सेवा गरेर शक्ति मागेपछि सावायेहाङलाई माङबाट शक्ति प्रदान हुने वहाँले बताउनु भयो ।

 

 

 

सेवाको नेतृत्व पापोहाङले लिनुपर्ने बताउनुहुँदै अङसीमाङले भन्नु भयो, ‘पवित्र भावनाले सेवा गरे मुक्ति पाईन्छ र भोलिीसारा किरातहरु एक हुने दिन आउँछ ।’ यसैगरी पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद योङयाले हाङथिमको जिम्मेवारी गुरुज्यूले आफूलाई दिनुभएको बताउनु भयो । वहाँले भन्नु भयो, ‘गुरुज्यूकै निर्देशनमा हामीले राष्ट्रिय जनजाति पार्टी स्थापना गरेका थियौं । जनजाति  पार्टीको स्थापना गर्दै पहिलो पटक नेपाललाई १२ वटा प्रान्तमा विभाजन गर्ने निर्णय गरेका थियौं ।’

 

 

अध्यक्ष योङयाले जनजाति पार्टी खोले पनि निर्वाचन आयोगमा भने तत्कालिन संविधानले गर्दा दर्ता गर्न नसकेको दुखेसो पोख्नु भयो । वहाँले त्यतिबेला जनजाति पार्टीको झण्डा र चुनाव चिन्ह सुर्य बनाउने गुरुज्यूको निर्देशन भएपनि पार्टी नै दर्ता हुन नसकेर पछाडि त्यो चुनाव चिन्ह नेकपा एमालले लगेको बताउनु भयो ।

 

 

 

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङले गुरुज्यूको निर्देशन बमोजिम हरेक कार्यमा एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।  कार्यक्रममा सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमा आप्लुङगेन ताङसेप सेवा नु माङहुप (साकमुरा) वादेम्मा सेवा २०७९ को लागि आगामी माघ १२ र १३ गते सावायेहाङबाट माङहुक्वा संकलन गरी आयोजना गर्ने गरी सेरवहादुर लाओतीको अध्यक्षतामा आयोजक समिति समेत गठन गरिएको जनाएको छ ।

 

 

 

पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद योङया, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ताराबीर नेम्बाङ, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय महासचिव काकीराम लाओती, आत्मा पवित्र किरातेश्वर गौशालाका अध्यक्ष बीरबहादुर आङला, किरात साम्यो थामेन्दीमा पान्जुम्भोका अध्यक्ष सरुहाङमा सेलिङ, किरात साहित्य प्रतिष्ठानका सचिव भगिहाङ नेम्बाङ लगायत पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र थुम थुमका भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रममा सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमा आप्लुङगेन ताङसेप सेवा नु माङहुप९साकमुरा० वादेम्मा सेवा २०७९ का अध्यक्ष सेरबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उदयबिक्रम तुम्बापोले गरेका थिए ।