किरात सभ्यताको आधारमा प्रदेशको नामाकरण गर्नु सान्दर्भिक छ : उपराष्ट्रपति पुन

काठमाडौं/किरात सभ्यताको आधारमा प्रदेशको नामाकरण गर्न, गराउनको लागि माग गर्नु अत्यन्तै सान्दर्भिक रहेको उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले बताए ।

 

 

पहिचान सहितको प्रदेशको नामाकरणको लागि शान्तिपूर्ण नैतिक दवाब समितिका प्रतिनिधि मण्डलसँगको भेटमा उपराष्ट्रपति पुनले सो धारणा राखेका हुन् ।

 

 

आइतबार दवाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा गएको प्रतिनिधि मण्डलले प्रदेश नं. १ को नाम किरात सगरमाथा प्रदेश नामाङकनको लागि सम्माननीय उपराष्ट्रपतिलाई ज्ञापनपत्र समेत बुझाएको शान्तिपूर्ण नैतिक दवाब उपत्यका समितिका संयोजक जीवनकुमार सुनुवारले बताएका छन् ।

 

दबाव समितिको ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले संविधानले दिएको अधिकारको प्रयोग गरी प्रदेशको नामाङकनको लागि उद्देश्य प्राप्त गर्न निर्धक्कका साथ लागि पर्न प्रोत्साहित गर्नु भएको उपत्यका समितिका संयोजक सुनुवारले जनाएको छ ।

 

 

पहिचान सहित प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ नामाङकन गर्न, गराउनलाई शान्तिपूर्ण नैतिक दबाब समितिले राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने क्रम जारी रहेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

 

 

यसरी राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने, ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शान्तिपूर्ण नैतिक दबाब समितिले ज्ञापनपत्र बुझाई सकेका छन् ।

 

 

त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि दबाव समितिले भेट गरी ज्ञापनपत्र बुझाइ सकेको संयोजक थेगिमले बताए ।

 

 

समितिका संयोजक थेगिमका अनुसार सत्ता गठबन्धन दलका शीर्षस्थ नेताहरु बहुपहिचानको आधारमा नामाकरण गर्ने विषयमा सकरात्मक देखिएपनि पहिचानको आधारमा प्रदेश नामाकरण गर्ने सवालमा एमालेका अध्यक्ष ओली सकरात्मक हुन सकेको छैन् ।

 

 

 

प्रदेश नं १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामाकरणको लागि राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने, ज्ञापन पत्र बुझाउने, लबिङ गर्ने कार्य र विभिन्न जिल्लाहरुमा जिल्ला समिति समेत गठन गर्ने कार्य समेत भइरहेको शान्तिपूर्ण नैतिक दबाब समितिका संयोजक थेगिमले बताए ।