काठमाडौं/प्रदेश नं १ को नाम बहुपहिचानमा आधारित किरात सगरमाथा प्रदेश नामाकरण गर्न नैतिक दबाव सिर्जना गर्ने उद्देश्यले काठमाडौंमा जीवनकुमार सुनुवारको संयोजकत्वमा ५१ सदस्यीय शान्तिपूर्ण नैतिक दवाव उपसमिति गठन गरिएको छ ।
शनिबार शान्तिपूर्ण नैतिक दबाव समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको उपस्थितिमा गठन गरिएको उपसमितिमा सह संयोजक मनमाया वनेम फागो रहेकी छन्।
प्रदेश नं. १ को नाम ‘किरात सगरमाथा’ प्रदेश नामाकरण गर्न, गराउन गठन भएको शान्तिपूर्ण नैतिक दवाव समितिले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट कार्यक्रम र विभिन्न जिल्लाहरुमा उप समिति गठन गर्ने कार्य अघि सारेको जनाएको छ ।
प्रदेश नं. १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामाकरणको लागि विभिन्न जिल्लाहरुमा विभिन्न जातीय संघ संस्थाहरुसँग छलफल जारी रहेको दबाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।
यसरीनै राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने, ज्ञापन पत्र बुझाउने र लबिङ गर्ने कार्य तिब्र गतिमा भइरहेको दबाब समितिका संयोजक थेगिमको भनाई छ ।
पछिल्लो समय प्रदेश नामाकरणको मुद्दा पेचिलो रूपमा उठिरहेको सन्दर्भमा विश्व शान्ति तथा मानव एकताको लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा सोमबार र मंगलबार सावायेत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको दबाव समितिका सह संयोजक केहेरसिं योङहाङले जानकारी दिए।