माङसेबुङ/प्रदेश नं. १ को नाम पहिचानको आधारमा ‘किरात सगरमाथा’ प्रदेश नामाकरण गर्न, गराउन शान्तिपूर्ण नैतिक दवाव समितिले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट कार्यक्रम अघि सारेको छ।
शुक्रबार नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुबास नेम्बाङसँग झापाको बिर्तामोडमा दबाब समितिका प्रतिनिधिहरुले भेटघाट गरेको हो । सो भेटमा किरात धार्मिक पर्यटकीय स्थल माङसेबुङको विकासकाबारेमा पनि छलफल भएको जनाएको छ ।
प्रदेश नं. १ लाई ‘किरात सगरमाथा’ प्रदेश नामाकरणको लागि विभिन्न जिल्लाहरुमा विभिन्न जातीय संघ संस्थाहरुसँग छलफल जारी रहेको जनाइएको छ ।
यसरीनै राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने, ज्ञापन पत्र बुझाउने र लबिङ गर्ने कार्य तिब्र गतिमा भइरहेको दबाब समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।
पछिल्लो समय प्रदेश नामाकरणको मुद्दा पेचिलो रूपमा उठिरहेको छ । पहिचानको आधारमा नामाकरण राख्नुपर्ने माग गर्दै किरात याक्थुङ चुम्लुङको समन्वयमा विभिन्न ३५ वटा पहिचान सम्मीलित लिम्बुवान किरात संयुक्त संघर्ष समितिले लिम्बुवान, किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै निरन्तर आन्दोलनरत छ । यसका लागि आन्दोलनको रुपमा जन प्रदर्शन , धर्ना जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।
त्यस्तै किरात राई यायोक्खाले पनि पहिचानको आधारमा ‘किरात प्रदेश’ नामाकरण गर्नुपर्ने माग गर्दै र्याली ,धर्ना र प्रदर्शन गर्दै आइरहेको छ ।