दमक/प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा कायम गर्न, गराउन दबावपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न शान्तिपूर्ण नैतिक दबाव समिति गठन भएको छ ।
यसरी गठित समितिले प्रदेश नं. १ को नामाकरण पहिचान र सभ्यताको आधारमा किरात सगरमाथा प्रदेश नामाकरण गर्न शान्तिपूर्ण ढंगले नैतिक दबाव सिर्जना गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
सो समितिको संयोजकमा समाजसेवी डकेन्द्रसिंह थेगिम र सह संयोजकमा अर्का समाजसेवी केहेरसिं योङहाङ रहनु भएको छ । भने, सदस्य सचिव पृथिमान खालिङ र अर्थ संयोजक चिरञ्जीवी खालिङ राई रहनु भएको छ ।
प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा कायम गराउन शान्तिपूर्ण दबाव सिर्जना गराउने गरी गठन गरिएको समितिले नेपालको प्रमुख राजनीतिक दलहरुका अध्यक्ष लगायत प्रधानमन्त्री र सभामुख समक्ष ज्ञापन पत्र बुझाउने र काठमाण्डौं उपत्यकामा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेको दबाव समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।
समितिका संयोजक थेगिमका अनुसार संघीय सरकारमा ज्ञापन पत्र बुझाई सकेपछि चरणबद्ध प्रदेश सभामा ज्ञापन पत्र बुझाउने, शान्तिपूर्ण दबावका लागि जनप्रदर्शन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
प्रदेशको नाम किरात सगरमाथा नामकरणले १ नम्वरवासी र मुलुककै सबै जातजातिहरुको राष्ट्रिय स्वाभिमानलाई सम्मानका लागि उपयुक्त नाम हुने संयोजक थेगिमको मत छ ।
प्राचीन कालदेखि बसोवास गर्दै आएका मुलुकका किरात जातिहरु भएको सम्मानसंगै विश्वको अग्लो चुचुरो सगरमाथाले सबै नेपालीलाई संसार भर चिनाउने हुँदा किरात सगरमाथा नाम राख्न उपयुक्त हुने समितिले जनाएको छ ।