माङसेवासावा पान्जुम्भोको २४ औ स्थापना दिवस सम्पन्न

माङसेबुङ/किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।

 

किरात धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङ ५ मा अवस्थित माङ्सेवासाबा पान्जुम्भोको भवनमा शनिबार किरात चोलुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा विशेष अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, अतिथिहरु किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, तुम माङ्सेवासाबा मनप्रसाद थलङ लिम्बु, माङगेन्ना सदस्य पुर्ण कार्की ढोली र किरात साम्यो हक्चात यक्चम अध्यक्ष मनकुमार आङबुहाङ लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी माङ्सेवासाबाको २४ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको अवसरमा सेवासाबा संगठनमा पुर्याएको सहयोग र योगदानको उच्च मुल्यांकन गर्दै साहित्यकार तथा साङदाङगेन वरुमसाबा माङ्सेबुङ ५, अमदेन, इलाम निवासी इन्द्रहाङ आङ्देम्बेलाई सम्मान गरिएको पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।

 

कार्यक्रममा अतिथिहरु किरात साम्यो माङ्सेवासाबा नेवाला अध्यक्ष हरि थोक्लिहाङ, पदम चोङबाङ लिम्बू, सम्मानीत व्यक्तित्व इन्द्रहाङ आङ्देम्बे, तुम माङ्सेवासाबा मनप्रसाद थलङ लिम्बु, डा. चन्द्रकुमार सेर्मा, विशेष अतिथि डकेन्द्रसिंह थेगिम र प्रमुख अतिथि केहेरसिं योङहाङले शुभकामना मन्तव्य राखेका थिए ।

 

किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष बलराम खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सन्चहाङ सङबाङफेले सञ्चालन गरेका थिए ।