किरात साम्यो माङ्सेवासाबाको छैटौं सम्मेलन चैतमा हुने

माङसेबुङ/किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको छैटौं सम्मेलन आगामी चैत पहिलो हप्ता हुने भएको छ ।

 

पान्जुम्भोको केन्द्रीय सम्मेलन आगामी चैत २, ३, ४, ५, ६ र ७ गते इलाम जिल्लाको धार्मिक पर्यटकीय स्थल किरात धर्मावलम्बिहरुको आस्थाको केन्द्र माङ्सेबुङ ५ मा अवस्थित पान्जुम्भोकै भवनमा सम्पन्न हुने कोषाध्यक्ष प्रकाश सावादेन लिम्बुले बताए ।

 

विश्व भरी रहेका माङ्सेवासाबा/माङसेवासामाहरुको बृहत् उपस्थितिमा सम्मेलन भव्य कार्यक्रमको साथ सम्पन्न गरिने पान्जुम्भोले जनाएको छ ।

 

मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पबित्रहाङमा लिङ्देनज्यूहरुको गरिमामय देव उपस्थितमा किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समितिको केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा छैटौं सम्मेलन समुद्गघाटन हुने आयोजक समितिले जनाएको छ ।

 

 

सम्मेलनमा सम्मानित

 

किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको छैटौं सम्मेलनमा २ जनालाई सम्मान गर्ने भएको छ । लामो समयदेखि किरात भाषा, लिपि, साहित्यको क्षेत्रमा कलम चलाउँदै आइरहेका साहित्यकार तथा साङदाङगेन वरुमसाबा इन्द्रहाङ आङ्देम्बे र साङ्दाङगेन वरुमसाबा भक्त साँबालाई सम्मान गर्ने पान्जुम्भोले जनाएको छ ।

 

सम्मेलन कार्यक्रम अन्तर्गत आगामी चैत २ गते उपस्थिति, ३ गते साक्मुरा वादेम्मा, ४ गते नाम्धुङ लाधुङसेमी सेवा र ५ गते छैटौं सम्मेलन समुद्घाटन कार्यक्रम रहेको छ । यसैगरी ६ गते बन्दसत्रबाट नयाँ समिति चयन साथै सपथ ग्रहण र चैत ७ गते बिदाई कार्यक्रम हुने पान्जुम्भोका सचिव सन्चहाङ सम्बाहाङ्फेले बताए ।

 

छैटौं सम्मेलन कार्यक्रममा मातहत निकाय स्वदेश तथा विदेश साथै प्रत्येक गाउँपालिका, नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजक समितिले जनाएको छ ।