माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा साथै माङ्वाहाङ्वा वितरण समारोह समापनपछि कार्यक्रमस्थल सरसफाई गरिएको छ ।
माघ २ गतेदेखि सुरुभएको खिबेक्वा याक्वा सेवासँगै यस वर्षदेखि जोडिएको कम्ब्राङ ताप्फेङ माङगेन्ना कार्यक्रम अन्तर्गत माघ ४, ५ र ६ गतेका दिन स्वदेश विदेशबाट आउनु भएका किरात धर्मावलम्बीहरुले किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा माङगेन्ना सेवा गरेका थिए ।
कार्यक्रम प्राङ्गण स्थलमा छोडेर रहेको फूल, प्लास्टिकजन्य सामग्रीहरु किरात धार्मिक संघ संस्थाहरुले सफा गरेका हुन् । यसरी सरसफाई गर्ने धार्मिक संस्थाहरु किरात साम्यो नालिफुङ्वा पान्जुम्भो , किरात साम्यो माङसेवासाबा पान्जुम्भो, किरात साम्यो साक्थिम्गेन पान्जुम्भो लगायत विभिन्न विभागहरुले सरसफाइ गरेको नालीफूङ्वा पान्जुम्भोका सचिव आयुष विक्रम तुम्बापोले बताए ।
समारोह कार्यक्रम सकिएको भोलिपल्टै सरसफाइ गरिएको उनले बताए । सचिव तुम्बापोका अनुसार किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्य र पवित्र भूमिलाई सफा राख्न सरसफाई गरिएको हो ।
उनका अनुसार सेवामा आवश्यक फूल, प्लास्टिक, पानीका बोतल, विछ्याउने सामग्री लगायतको फोहोरलाई संकलन गरी जलाएर नस्ट गरिएको हो।
किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका सदस्य स्वयंसेवक परिचालक सबिन साम्पाङ राईले सरसफाइमा विभिन्न थुमबाट आएका नालिफुङ्वाहरु परिचालन गरिएको बताए ।