सावायेहाङ किरात कम्ब्राङ माङगेन्ना सेवा धमाधम हुँदै

माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण कार्यक्रममा मंगलबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाको सुरुवात गरिदिनु भएको छ ।

 

माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोहमा विश्व व्यापी रुपमा फैलिरहेको महामारी कोभिड १९ कोरोना भाइरसको कारण सम्पूर्ण औपचारिक कार्यक्रमहरु स्थगन गरी नित्य सेवा र माङगेन्ना सेवा मात्र सञ्चालन गरिने समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

 


नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै पूर्व निर्धारित औपचारिक कार्यक्रमहरुलाई स्थगन गरी स्वास्थ्य मापदण्ड अनुसार सामाजिक भौतिक दूरी कायम गर्दै, नित्य सेवा मात्र आयोजना गरी यस पटकको खिबेक्वा याक्वा सेवा (उभौली पर्व) मनाउन लागिएको समारोहका अध्यक्ष योङहाङको भनाई छ ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा बुधबार विहान किरात हाङसाम मुजोत्लुङ माङहिममा विश्व शान्ति मानव एकताका लागि नित्य सेवा सम्पन्न गरिने समारोहका अध्यक्ष योङहाङले जानकारी दिए ।

नित्य सेवा अन्तर्गत सम्पूर्ण किरात धर्मावलम्बीहरुले माङगेन्ना सेवा बुधबार र बिहिबार मुजोत्लुङ माङहिमको प्राङगणमा सम्पन्न गरिने जनाइएको छ ।

 

यस वर्ष सुरु गरिएको सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाल, चामल, तेल, धागो, पानी, माङगेन्ना फूलहरु र माङगेन्ना भेटी भक्तजनहरु आफैंले व्यवस्थापन गर्नु पर्ने छ ।

माङगेन्ना सेवामा उपस्थित हुन नसकेका परिवारजनको हकमा येबो (मैनम) मार्फत पनि परिवार/प्रतिनिधिले माङगेन्ना गर्न, गराउन सकिने छ जनाइएको छ ।