माङ्सेबुङ /किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा आजदेखि सुरु भएको आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम सेमी फाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा गोधुली क्लव धरान सुनसरीलाई ३–१ ले पराजित गर्दै माङसेबुङ आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो ।
खेलको १८ औं मिनेटमा नै माङसेबुङका प्रविण राईले पाहिलो गोल गर्दै माङसेबुङलाई अग्रता दिलाए । यसैगरी खेलको २० औं मिनेटमा पुनः राईले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
घरेलु मैदानको समर्थन पाएको माङसेबुङले खेलको २४ औं मिनेटमा निर्मल राईको गोलमा अग्रता तेब्बर बनाए । गोधुलीका तर्फबाट विवस सुनुवारले सान्वना गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच भने गोधुलीका सौजन राई घोषित भए ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले गरेका थिए ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनका देव समुपस्थितिमा सम्पन्न प्रतियोगिताको उद्घघाटन समारोहमा अङसीमाङबाट माङ आशीर्वचन समेत प्रदान भएको थियो ।
प्रतियोगिता अन्तर्गत आइतबार खेल बि.बि.एफ.सि. दमक झापा र रेड हर्ष इलाम वीच अपरान्ह २ वजे हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।
प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।
जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।