महागुरु फाल्गुनन्द १३७ औं जन्मजयन्ती संसारभर मनाइयो


माङसेबुङ/किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्ती आज (बिहिबार) किरात धर्मावलम्बी बसोबास रहेको मुलुकहरुमा धुमधाम मनाइएको छ ।

 

 

केन्द्रीय कार्यक्रमको रुपमा मोरङको केराबारी र लेटाङ साथै सुनसरीको भरौलमा किरात माङहिम समुदघाटन तथा महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण गर्न मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको माङसवार भएको माङसवार कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

 


माङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङका अनुसार जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा मोरङ र सुनसरी गरी यस वर्ष तीन स्थानमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको सो कार्यक्रमहरुमा अङसीमाङ तथा अङसीमामाङको सवार भएको हो ।

 

जन्मजयन्तीको अवसरमा आयोजना गरिएको तीन वटै स्थलको कार्यक्रमहरु मोरङको केराबारी र सुनसरीको भरौलमा किरात माङहिम उद्घाटन तथा महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण साथै मोरङको लेटाङमा महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण गरिएको थियो ।

 


महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम केन्द्रीय कार्यक्रमहरुमा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको जुनसुकै ठाउँमा पनि भव्यता साथ दीपावली गरी मनाउने गरिएको छ । आज पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की लगायतका किरात माङहिमहरुमा किरात धर्मावलम्बीहरुले बिभिद कार्यक्रहरुका साथ नाम्धुङ लाधुङ सेमी सेवा र शुभकामना आदान प्रदान गर्दै महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्ती धुमधामका साथ मनाएको जनाइएको छ ।

 


महागुरु फाल्गुनन्दले किरात सभ्यताको स्थापनार्थ साथै समाज सुधारका लागि खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै नेपालको अलावा भारत, भुटान, बर्मा, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, बेलायत, मलेसिया, कतार, दुर्बइ, जापान, कोरिया लगायत किरात धर्मावलम्बी बसोबास रहेका विभिन्न मुलुकहरुमा विभिन्न कार्यक्रम आयोजना गरी महागुरु फाल्गुनन्द जन्मजयन्ती धुमधामका साथ मनाईएको छ । भने, आज साँझ दीपावली गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

 


सुनसरीको भरौलमा किरात माङहिम उद्घाटन तथा महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का अर्थमन्त्री माननीय इन्द्र आङबो मौसम रहनु भएको थियो भने, मोरङको लेटाङमा सम्पन्न गर्न महागुरु फाल्गुनन्दका प्रतिमा अनावरण कार्यक्रममा प्रमुख अतिथि रक्षा मन्त्री माननीय मिनेन्द्र रिजाल रहनु भएको थियो ।

 

 

किरात सभ्यता विश्वव्यापी हुँदै छ : अङसीमाङ आत्मानन्द सेइङ

 

 

महागुरु फाल्गुनन्द जन्मजयन्ती समारोह अन्तर्गत किरात माङहिम उद्घाटन तथा महागुरु फाल्गुनन्द प्रतिमा अनावरण कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुले आशीर्वचन समेत प्रदान गर्नु भएको थियो ।

 


यसरी आशीर्वचन दिनु हुनेक्रममा महागुरु फाल्गुनन्दको विश्व शान्ति तथा मानव एकताको मूल दर्शन संसारभर फैलिन्दै गएकोले जन्मजयन्ती पनि विश्वको विभिन्न मुलुकहरुमा मनाइरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

 

महागुरु फाल्गुनन्दले २० औं शदाब्दीमानै समानताको जग बसाउँनु भएको तर हामीले बुझन नसक्नु दुर्भाग्य बनेको अङसीमाङ आत्मानन्द सेइङले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘त्यो समयमा हाम्रो समुदायले महागुरुको भनाई बुझन् सकेको भए अहिले यो अवस्थामा मात्र हुँदैनन् थियौं तर बुझ्न नसकेकोले पछाडि परेका छौं ।’

 

किरात धर्म दर्शन, संस्कार संस्कृति र सभ्यताकोबारेमा चर्चा गर्नु हुँदै अङसीमाङले भन्नु भयो, ‘इतिहासमा किरात सभ्यताले नेपाल मात्र नभई भारत पूरैनै खर्लप्पै खाएको थियो ।’ खाडीको कपडा बुन्ने, लगाउने सभ्यता किरात सभ्यता रहेको समेत वहाँले बताउनु भयो ।

हरेक १० वर्षमा राज्यले गर्ने राष्ट्रिय जनगणना बिहिबार (आज कार्तिक २५ गते) देखिनै देशव्यापी सञ्चालन हुने प्रसंगमा समेत अङसीमाङले बोल्नु भएको थियो । वहाँले भन्नु भयो, ‘राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन सम्पूर्ण महानुभावहरुलाई हार्दिक अपिल गर्दछु ।’

 

 

महागुरु फाल्गुनन्द समग्र किरात संस्कृतिका संरक्षक हुन : मुख्यमन्त्री राई

 

 

मोरङको केराबारीमा सम्पन्न जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै, प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महान व्यक्तित्वको जन्मजयन्तीसँगै वहाँको प्रतिमा अनावरण कार्यक्रममा सहभागि हुन पाउँदा अति खुशी लागेको बताए ।

 


महागुरु फाल्गुनन्दले मानव हीत अर्थात समाजलाई सभ्य र शिक्षित बनाउन खेल्नु भएको अतुलनीय देनलाई उच्च कदर गर्दै, वहाँको सत्य र शान्ति मार्गमा सबै लामबद्ध हुन मुख्य मन्त्री राईले आग्रह गर्नु भयो ।

 

सिंगो राज्य नै विभेदकारी नीतिमा चलिरहन्दा महागुरुले समानताको जग बसाउँदै, किरात धर्म संस्कृतिको उत्थान कार्यमा लाग्नु चुनौतिपूर्ण काम रहेको चर्चा समेत गर्नु भएको छ ।

 

महागुरु फाल्गुनन्दलाई बढी धर्मगुरुको रुपमा मात्र परिचर्चा गर्ने गरिएको भन्दै, वहाँ धर्मगुरु मात्र नभई समग्र किरात संस्कृतिका संरक्षक अर्थात उत्थापक रहनु भएको मुख्यमन्त्री राईले बताए ।