माङसेबुङ/मेरो गणना, मेरो सहभागिता भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना बिहिबारदेखि देशव्यापी रुपमा सञ्चालन हुँदै छ । कार्तिक २५ देखि मसिंर ९ गतेसम्म सञ्चालन हुने जनगणनामा गणकहरु प्रत्येक घरैमा पुगेर परिवारका सबै विवरणहरु संकलन गरिने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।
राष्ट्रिय जनगणनाको सन्दर्भमा सचेतना फैलाउँदै, धर्मको महलमा किरात धर्म लेख्ने, लेखाउने अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्न ‘किरात हुनको गर्व किरात धर्म, महान किरात धर्मलाई कहिल्यै नभूलौं, राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म लेखौं, लेखाऔं’ भन्ने मूल नाराका साथ किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति समेत गठन गरिएको छ ।
यस अघिका जनगणनामा प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि हाँसिल गर्न यस जनगणनामा धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन सम्पूर्ण महानुभावहरुलाई किरातजन्य संघसंस्थाहरुले अपिल गरेका छन् ।
किरात समुदायको धार्मिक पहिचान स्थापित गर्न, विविधतामा एकता कायम गर्न र दर्विलो तथ्यांङक स्थापित गर्न पनि राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखाउन आवश्यक रहेको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।
अध्यक्ष योङहाङका अनुसार प्रकृतिपूजा, समानता, मानवता, विश्व शान्ति, मानव एकता, अहिंसावादी मार्गबाट किरात धर्मले सिङ्गो मानव समुदायलाई जोड्दै लगेको छ । तसर्थ, सबै मानव समुदायलाई नै जोड्ने सेतुको रुपमा राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्न आवश्यक रहेको छ ।
जनगणनामा गणकहरुद्धारा सोधिने करिब ८० वटा प्रश्नहरुमध्ये तपशिलका प्रश्नहरुको सवालमा किरातजन्य धार्मिक, सामाजिक संघ संस्थाहरुले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
जात÷जाति के हो ? भन्ने महलमा आ आफ्नो जाति लेख्ने, लेखाउने (जस्तै ः राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायु, बराम, मगर, गुरुङ, तामाङ, थारु, माझी, धिमाल, सेर्पा, लेप्चा, छन्त्याल, थकाली, राजवंशी, सन्थाल, मेचे, कोचे, दनुवार, बाहुन, क्षेत्री, कामी, दमाई, सार्की, शाह, आदि), पुर्खाको भाषा के हो ? भन्ने महलमा आ आफ्ना पूर्खाको भाषा लेख्ने, लेखाउने, मातृभाषाको महलमा आ आफ्नो मातृभाषा लेख्ने, लेखाउने ।
त्यसैगरी दोस्रो भाषा के हो ? भन्ने महलमा नजिककैको आदिवासी जनजाति समुदायको मातृभाषा लेख्ने, लेखाउने र कुन धर्म मान्नु हुन्छ ? भन्ने महलमा सम्पूर्ण महानुभावहरुले किरात धर्म लेख्न, लेखाउन महासमितिले अपिल गरेको छ ।
किरात धर्म लेखौं राष्ट्रिय अभियान अन्र्तगत नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, खोटाङ जिल्ला लगायतमा अभियान समन्वयन समिति गठन गरिएको छ । भने, कास्की, उदयपुर, खोटाङ, भोजपुर, संखुवासभा लगायतका जिल्लाहरुमा पुगेर किरात धर्म सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।
राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखाउन राई, लिम्बू, याख्खा, सुनुवार, थामी, जिरेल, सुरेल र हायु जातिले संस्थागत निर्णय गरिसकेका छन् । भने, महासमितिले धिमाल, मेचे, कोचे, दनुवार, माझी लगायतलाई पनि किरात धर्म लेख्ने अभियानमा सहभागिता गराउन विभिन्न चरणमा अन्तरक्रिया गरिएको महासमितिका सह अध्यक्ष थेगिमको भनाई छ ।