महागुरु फाल्गुनन्द जन्मजयन्ती संसारभर मनाइँदै


माङसेबुङ/किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती कार्यक्रम भव्यताका साथ मनाउने तयारी भइरहेको छ ।

 

आगामी २०७८ कार्तिक २५ गते बिहिवार का दिन महागुरु फाल्गुनन्द लिङ्देन १३७ औं जन्मजयन्ती कार्यक्रम मनाउने तयारी गरिएको हो । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न भूभाग, भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकहरुमा महागुरु जन्मजयन्ती मनाउने गरिएको छ ।

 

यसरी जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा मोरङ र सुनसरी गरी यस वर्ष तीन स्थानमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना हुने किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

 

मोरङ जिल्लाको केराबारी र लेटाङ र सुनसरीको भरौलमा किरात माङहिम समुदघाटन तथा महागुरु फाल्गुनन्दका सालिक अनावरण गरी भव्यताका साथ किरात धर्मदर्शनका महान दार्शनिक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३७ औं जन्मजयन्ती समारोह मनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

 

यसरी आयोजना गरिने ३ वटै कार्यक्रमहरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको माङसमुपस्थितिमा सम्पन्न हुने किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

 

माङगेन्ना सेवा समितिका अध्यक्ष योङहाङका अनुसार तीन स्थानमा आयोजना गरिएको केन्द्रीय कार्यक्रममा हवाई यात्रा मार्फत अङसीमाङ तथा अङसीमामाङहरुको आगमन हुने छ ।

 

फाल्गुनन्द शालिक अनावरण अन्तर्गत आगामी कार्यक्रमको रुपमा झापा जिल्लाको सालबारी र चिल्लागढ, पान्थर जिल्लाको फाल्गुनन्द गा.पा. स्थित चिलिङ्देन पुधाम्लुङ र ताप्लेजुङको फक्ताङलुङ गा.पा. स्थित तागेरा निङ्वाभु फुकुमा स्थापित किरात माङहिम उद्घाटन तथा महागुरु फाल्गुनन्द सालिक अनावरण कार्यक्रम सम्पन्न गरिने संघका अध्यक्ष थेगिमले जनाएको छ ।

 

महागुरु फाल्गुनन्दको संक्षिप्त चिनारी

 

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन जन्मिएको १३६ वर्ष पूरा भई आगामी कार्तिक २५ गतेबाट १३७ वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्ती आगामी कार्तिक २५ गते विविध कार्यक्रम आयोजना गरी संसारभर मनाईदैछ ।

 

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।

 

महागुरुले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिरहेका समाजलाई सुधार गर्नका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

 

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले किरात धर्म दर्शनदाता, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्यहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएकोले समाज सुधारक र राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले फाल्गुनन्दलाई राष्ट्रिय विभूतीको रुपमा पनि सबै माझ पुज्य हुनुभएको छ । तत्कालीन समयमा लोपोन्मुख अबस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किरात समुदायलाई सत मार्ग दर्शनमा र्डोयाउन अहोरात्र लाग्नु भएको थियो ।

 

नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा नं. ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । मुहिङगुम अङसीमाङ फाल्गुनन्दले वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।

 

हाङ्यकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।