धर्म, भाषा, लिपिको उत्थान कार्यमा लाग्दा टाउकोको मूल्य तोके : आत्मानन्द सेइङ

माङसेबुङ/धर्म, भाषा, लिपी र साहित्यको उत्थान कार्यमा लाग्दा राज्यले तत्कालीन अवस्थामा आफ्नो टाउकोको मूल्य ३ लाख तोकेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

 

अङसीमाङले सो कुरा बिहिबार निजी गुरु आश्रम दर्शनशाला भवन उद्घाटन कार्यक्रममा आशीवर्चन दिनुहुँदै भन्नु भएको हो । किरात माङहिमहरु चौतर्फी निर्माण भएसँगै धर्म, भाषा, लिपी र संस्कार संस्कृतिको प्रचार प्रसारले व्यापकता लिएको अङसीमाङले बताउनु भयो ।

 

सबैले आफ्नो भाषा, साहित्य र संस्कृति मान्न पाउनु लोकतन्त्रको सुन्दर गहना भएको बताउनु हुँदै, स्थानीय भाषा र लिपिको लागि माङसेबुङ गाउँपालिकाले विशेष पहल गर्न अङसीमाङले आग्रह गर्नु भयो ।

 

यसरीनै अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ माङसेबुङमा निकट भविष्यमा धार्मिक पर्यटकहरुको भीड लाग्ने बताउनु भयो । वहाँले भन्नु भयो ‘माङसेबुङलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न विकासका पूर्वाधारहरुको निर्माणमा सबै एकजुट हुनु पर्ने छ ।’ वहाँले आशीवर्चन दिने क्रममा थप्नु भयो, ‘माङसेबुङ चक्रपथ कालोपत्रे गर्ने, मुजोत्लुङ माङहिम निर्माण (केन्द्रीय), केबलकार निर्माणसँगै पर्यटकीयस्थल विकास लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुको निर्माण गर्नु पर्ने छ ।’

 


किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समुपस्थितीमा निजी गुरु आश्रम दर्शनशाला भवन र गुरु निजी आश्रम सिद्ध जनशक्ति प्रा.लि.को कार्यालय भवन उद्घाटन गरिएको छ ।

 

यसरी निजी आश्रममा निर्माण गरिएका भौतिक संरचनाहरु उद्घाटन गर्ने क्रममा गुरु आश्रम प्रवेश द्धारमा निर्मित महागुरु फाल्गुनन्दको प्रतिमा अनावरणसँगै सेइङ पवित्रहाङमा आयुर्वेदिक पसल पनि उद्घाटन गरिएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगो, अतिथिहरु किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, माङसेबुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्र राई, गुरु प्रवक्ता डिल्लीराम चाम्लीङ रहनु भएको थियो ।

 

 

गुरु निजी आश्रम सिद्ध जनशक्ति प्रा.लि.का अध्यक्ष बुद्धिमान नुगोको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव अमर लाओतीले सञ्चालन गरेका थिए ।