माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको छैठौं केन्द्रीय सम्मेलन तथा ४२ औं स्थापना दिवस कार्यक्रमको तयारी सुरु गरिएको छ ।
पान्जुम्भोको केन्द्रीय सम्मेलन आगामी असोज २२ गतेदेखि २६ गतेसम्म किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा सम्पन्न हुने पान्जुम्भोका अध्यक्ष रामबहादुर थुलुङ राईले बताए ।
पान्जुम्भोका अध्यक्ष राईका अनुसार सम्मेलन असोज २२ गते उपस्थित, २०७८ असोज २३ गते साक्मुरा वादेम्मा, २४ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङ नाम्धुङ सेमी सेवा सञ्चालन गरिने छ ।
त्यसैगरी असोज २५ गते पान्जुम्भोको छैठौं सम्मेलन तथा स्थापना दिवस कार्यक्रम समुद्घाटन, पान्जुम्भोका कलाकारहरुको सम्मान, शुभकामना मन्तव्य साथै विविध सांस्कृतिक कार्यक्रम गर्ने र २६ गते बन्द सत्रमा पान्जुम्भोको प्रगति प्रतिवेदन साथै कार्य नीति, योजना पारित गर्दै नयाँ समिति गठनपछि विदाई हुने छ ।
यसरी सम्मेलनको तयारी अघि बढाउने क्रममा सम्मेलनको प्रचारप्रसार गर्ने, पान्जुम्भोका तेङगप र पाङभे पान्जुम्भोहरुमा भेटघाट तथा सम्मेलन सम्बन्धि छलफल कार्यक्रम सञ्चालन गर्ने तयारी सुरु गरिएको पान्जुम्भोका उपाध्यक्ष तथा सम्मेलन प्रचारप्रसार विभाग संयोजक ज्ञानु केदेमले बताए ।
सम्मेलन सम्पन्न पार्न आवश्यक जिम्मेवारी विभाजन र सम्मेलनमा प्रस्तुत गरिने आगामी कार्य नीति, सांगठनीक तथा आर्थिक प्रगति प्रतिवेदनहरु र कार्यक्रमहरुको तयारीमा पान्जुम्भो जुटिरहेको सम्मेलन प्रचारप्रसार विभाग संयोजक केदेमको भनाई छ ।
केन्द्रीय सम्मेलनमा पान्जुम्भोको कलाकारमा आबद्ध भई किरात धार्मिक सांस्कृतिक क्षेत्रमा योगदान दिने मध्ये एक जनालाई सम्मान गरिने, पान्जुम्भोका कलाकारको रुपमा योगदान दिने कलाकारहरुलाई पनि पान्जुम्भोले सम्मान स्वरुप कदरपत्रद्धारा सम्मान गर्ने तयारी गरिएको पान्जुम्भोका सचिव आइन्द्र थेगिमले बताए ।
मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको माङसिवाखाहुन र किरात धर्म दर्शनलाई अक्षरस पालना गर्दै मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङदेनहरुद्धारा सृजना गरिएका गीत संगीतहरुको संरक्षण गर्न र किरात मौलिक संस्कार संस्कृतिहरुलाई संरक्षण गर्दै विश्वव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले अङसीमाङ अङसीमामाङहरुको समुपस्थितीमा वहा“हरुकै निर्देशनमा वि.स. २०३७ साल असोज २५ गते केन्द्रीय किरात सांस्कृतिक समितिको स्थापना भएको थियो ।
किरात धर्म सम्बद्ध सांस्कृतिक समितिले स्थापना यता निरन्तर किरात धार्मिक जागरणका सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यसरी अघि बढ्दै आउनेक्रममा ५८ सालमा संगठनको नाम रुपान्तरण गरी किरात साम्यो साक्थिम्गेन यक्पाङगेन पान्जुम्भो (किरात धर्म सांस्कृतिक राष्ट्रिय समिति) बनाइएको थियो । त्यसमा पुन संशोधन गरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो (किरात धर्म सांस्कृतिक केन्द्रीय समिति) नामाकरण गरिएको थियो ।
यसरी विगत चार दशक यता निरन्तर किरात धर्म, संस्कार संस्कृतिको उत्थान, संरक्षण र सम्वद्र्धनमा क्रियाशिल किरात धार्मिक सांस्कृतिक संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको संस्थापनकालमा तत्कालीन कलाकार हर्कवीर योङहाङको अध्यक्षतामा समिति गठन गरिएको थियो ।