फक्ताङलुङको फेदीमा निजी गुरु आश्रम भवन निर्माण


ताप्लेजुङ/किरात समुदायको महान तिर्थस्थल सेन्छेई फक्ताङलुङ मारुङतेम्बे, पारुम्तेम्बेमा निर्माणाधिन निजी गुरु आश्रम भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

 

भदौं पहिलो सातानै सम्पन्न गर्ने गरी निर्माण कार्य धमाधम भइरहेको सेन्छेई फक्ताङलुङ संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दीपक ताप्मादेनले बताएका छन् ।

 

समितिका अध्यक्ष ताप्मादेनका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नंं. ७ साविक लेलेप गा.वि.स. वडा नं. ९ मा अवस्थित किरातहरुको धार्मिक तिर्थस्थल सेन्छेई फक्ताङलुङको मारुङतेम्बे, पारुम्तेम्बेमा गुरु निजी आश्रम भवन निर्माण गरिएको हो ।

 

समितिका सल्लाहकार तथा आर्थिक संकलन समन्वयन विभागका संयोजक ज्ञानु फुरुम्बोका अनुसार हालसम्म शुभेच्छुक धर्मावलम्बी महानुभावहरुबाट गत साउन मसान्तसम्ममा आर्थिक सहयोग ६४ लाख १९ हजार ६८५ रुपैयाँ समितिको खातामा संकलन भइसकेको छ ।

 


यसरी सहयोग प्राप्त भइरहेको भवन निर्माण खर्च अहिलेसम्ममा ४३ लाख २४ हजार ८५ रुपैंयाँ खर्च भइसकेको सल्लाहकार फुरुम्बोले बताए । करिब ८० प्रतिशत भवन निर्माण कार्य सम्पन्न भइसकेको सल्लाहकार फुरुम्बोको भनाई छ ।

 

सेन्छेई फक्ताङलुङ (कुम्भकर्ण) धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको रुपमा विकास र विस्तार गर्ने प्रचुर सम्भावना बोकेको धार्मिकस्थल हो । किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले किरात समुदायको मुख्य तिर्थस्थलको रुपमा स्थापना गरिदिनु भएको क्षेत्र हो ।