माङसेबुङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट बच्न विहान पूर्वतिर फर्केर युमा माङको सेवा गर्न सम्पूर्ण मानव समुदायलाई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले आग्रह गर्नु भएको छ ।
कोभिड–१९, महामारीबाट बच्न विश्व स्वास्थ्य संगठनबाट जारी नियमलाई पालना गर्दै साँझ विहान माङसेवा गर्नुको विकल्प नरहेको समेत वहाँले बताउनु भएको छ । महामारीको समयमा सरसफाई र खानपानमा पनि विशेष ध्यान दिन अङसीमाङले सम्पूर्ण मानव समुदायलाई अनुरोध गर्नु भएको छ ।
विश्व शान्ति र कोरोना महामारी रोकथामका लागि मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको देव समुपस्थितिमा विभिन्न ठाउँमा सामुहिक माङसेवा गर्ने कार्यक्रमहरु आयोजना गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले बताए ।
माङलाई अत्यन्तै विश्वास गरेर नित्य सेवामा ध्यान दिन सम्पूर्ण भक्तजनहरुलाई आग्रह गर्नु भएको छ । आपत्त विपतमा साथी माङ मात्र हुने भन्नु हुँदै अङसीमाङले भन्नुभयो, ‘हाम्रो पुकार माङले सुनेर जोगायो भने मात्र हामी जोगिन सकिन्छ ।’ अङसीमाङले आहार व्यहारमा शुद्धता हुनुपर्ने समेत वताउनु भएको छ ।