माङसेबुङ ।किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ बाट बच्न विहान पूर्वतिर फर्केर युमा माङको सेवा गर्न सम्पूर्ण मानव समुदायलाई आग्रह गर्नु भएको छ ।
कोभिड–१९ बाट बच्न विश्व स्वास्थ्य संगठनबाट जारी नियमलाई पालना गर्दै माङसेवा गर्नुको विकल्प नरहेको समेत वहाँले बताउनु भएको छ । वहाँले भन्नुभयो ‘सरसफाईमा ध्यान दिनुपर्छ, विवेकशिल बन्नुपर्छ, आफू पहिला बाँचेर अरुलाई पनि बचाउनु पर्छ र संसारकै मान्छेलाई बचाउनु पर्छ ।’
सो कुरा मंगलबार माङसेबुङ २ इभाङमा अवस्थित किरातेश्वर हाङसाम शिवालय माङहिम गैरीधाम चुक्चीनाम्बामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको देव समुपस्थितिमा सम्पन्न विश्व शान्ति र मानव एकताको निम्ति सप्ताहव्यापी सेवाको समापान समारोहमा माङ आशीर्वचन प्रदान गर्ने क्रममा अङसीमाङले बताउनु भएको हो ।
‘माङप्रति अत्यन्तै विश्वास गर्नु पर्छ’ अङसीमाङले भन्नुभयो, ‘विश्वास नै सवैभन्दा ठूलो शक्ति हो, विश्वासका साथ कोरोनाको शान्तिको लागि सामुहिक सेवा लगाउनु पर्छ ।’ आशीर्वचनकै क्रममा अङसीमाङले आहार व्यहारमा शुद्धता हुनुपर्ने वताउनु भएको छ ।
समापन कार्यक्रममा तुम्याहाङको रुपमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलीबाट आर्थिक सहयोग दाता भक्तजनहरुले फुलमाला आशीर्वाद ग्रहण तथा धन्यवाद पत्र ग्रहण समेत गरेका थिए ।
किरात धर्म दर्शनका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले सबै भन्दा पहिले निर्माण गर्नुभएको माङहिमको रुपमा र महागुरुको जन्म भूमि, कर्म भूमिको रुपमा समेत रहेको गैरीधाम चुक्चिनाम्बामा आयोजित सेवाको समापन कार्यक्रम निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङको अध्यक्षतामा र निजी गुरु आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङको सहअध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य उदय विक्रम तुम्बापो र सञ्चालन काकीराम लाओती ‘आन्छुमे नसान’ले गरेका थिए ।
सो सेवा निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समिति र निजी गुरु आश्रम कृषि समितिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।