ताप्लेजुङ । ऐतिहासिक धार्मिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङ नाम पुनः स्थापना गर्न मुक्कुमलुङको आगनमा वृहत जनप्रर्दशन गरिएको छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात लिम्बू समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी धार्मिक तथा सांस्कृतिक अतिक्रमण गरेको र मुक्कुमलुङको अस्तित्वमा आँच आउने गरी केबुलकार निर्माण गर्न खोजिएको भन्दै अभियन्ताहरूले शनिवार प्रदर्शन गरेका हुन् ।
‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, केवुलकार चाहिदैन, हामी विकासको विरोधी होइन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले पूरै मुक्कुमलुङको वरिपरि विरोध प्रदर्शन गरेका थिए ।
मुक्कुमलुङलाई मुक्कुमलुङ नामनै कायम राख्नु पर्ने पाथिभरा नाम राख्नु भनेको सांस्कृतिक तथा धार्मिक अतिक्रमण गर्नु रहेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले वताए । मुक्कुमलुङ वचाउन सिंगो संस्थाले ऐक्यबद्धता जनाउदै जुनसुकै आन्दोलन गर्न तयार हुने कुरा अध्यक्ष वनेमको भनाई छ ।
यसरीनै अभियन्ता दिलेन्द्र कुरुम्बाङले याक्थुङ लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए ।
प्रदर्शनमा मुक्मुमलुङको पवित्रता सबैले जोगाउनु पर्ने भन्दै, केबुलकार कुनै हालतमा ल्याउनु नहुने कन्चनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताए ।
सरकार र केही ठेकेदारहरुले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनाले वन विनाश मात्र होइन सिंगो प्रकृतिको दोहन गरी रहेको कुरा मुक्कुमलुङ वचाउ संघर्ष समितिका सल्लाहकार सरु सिङघकले बताएकी छन् ।
‘लिम्बू जातिको पुस्तौं पुस्तादेखि बसोबास रहेको मुक्कुमलुङ क्षेत्रको पहिचान र संस्कृति नै अर्को बनाइएको छ,’ राम मादेनले भने, ‘पाथी, पाथीभरा र हिन्दुजन्य नामहरुसंग जोडेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको छ ।’
कार्यक्रममा बोल्दै आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघको केन्द्रीय सह कोषाध्यक्ष साङसेन पन्धाकले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको थातथलो र पहिचान नामेट पार्दै आएको बताए । मुक्कुमलुङ लिम्बुहरुको मात्र होइन सारा आदिवासीहरुको प्राकृतिक तथा सांस्कृतिक धरोहर भएको उनले बताए ।
यस्तै आदिवासी जनजाति साहित्यकार महासंघ लिम्वुवान राज्य समितिका संयोजक मधु केरुङले राज्यले पाथीभरा नामाकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको आरोप लगाए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार पाथीभरा केवलकारको शिल्यानास कार्यक्रम रोकिएको छ । पाथीभरा नामलाई परिवर्तन नगरेसम्म केवलकारको विरोध गर्ने साथै सो क्षेत्रमा हुने प्रकृति दोहनबारे उचित सम्बोधन गर्न समेत माग गरिएको त्यस क्षेत्रका युवा राजनीतिज्ञ मुक्साम लाबुङ्ले बताए ।
किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डा. कमल तिगेला खेवाद्वारा मुन्धुम वाचन गरी साम्याङवा चुवा, युप्पावा चुवा, सिदाङगेवा चुवाले सेसेसाङसाङ गर्दै कार्यक्रमको थालनी गरे । स्थानीय कलाकारहरुले कार्यक्रममा केलाङ पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धार्मिक तथा सांस्कृतिक अतिक्रमण विरूद्ध मुक्कुमलुङ वचाउ संघर्ष समितिका संयोजक श्री लिङखिमले घोषणा पत्र वाचनसमेत गरेका थिए । भने, मुक्कुमलुङलाई सेक्क्रट साइटको घोषणा गर्दै लेखक तथा सांस्कृतिक अभियन्ता नन्द कुन्दङवाले कार्यक्रमको समापन गरेका थिए । सो कार्यक्रमको सञ्चालन सरोज कङलिबाले गरेका थिए ।