माङसेबुङ । राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को जन्मभूमि चुक्चिनाम्बा अगौटेबारीको संरक्षण र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङले बताए ।
बुधबार आयोजना गरिएको सप्ताह व्यापी सावा येत् नाम्धुङ लाधुङसेमी सेवा मा समुद्घाटन मन्तव्य राख्दै नेपाल सरकारका माननीय मन्त्री नेम्बाङले सो कुरा बताएका हुन ।
किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मभूमि इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नं.–२, चुक्चिनाम्बा अगौटेबारीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने मन्त्री नेम्बाङले बताएका हुन् ।
कार्यक्रमबाट फर्किने क्रममा पवित्रहाङमा मार्गको अवलोकन र कालोपत्रेका लागि दमक चिसोपानी सडक खण्ड (फाल्गुनन्द मार्ग) को अवस्थाका बारेमा मन्त्री नेम्बाङले छलफल तथा भेटघाट गर्नुभएको जनाइएको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी समुघाटन गरिएको थियो । भने माङसेवासावाहरुबाट मुन्धुम वाचन गरी सोमबार र मंगलबार विश्व शान्ति तथा मानव एकताका लागि सावा येत् नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसरी सप्ताह व्यापी आयोजना गरिएको सेवा तथा कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देव समुपस्थिती रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेम्बाङ, अतिथिहरु प्रदेश सभा सदस्य आशारत्न चवेगू, संविधान सभा सदस्य श्रीप्रसाद जवेगू, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायत उपस्थित हुनु भएको थियो ।
टिकाराम केरुङको अध्यक्षतामा र देउमान आङबुहाङको सह अध्यक्षतामा सम्पन्न कार्यक्रम गुरु निजी आश्रम कृषि समिति तथा गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि समितिले जनाएको छ । आयोजकका अनुसार शुक्रबार सप्ताहव्यापी सेवा समापन हुने छ ।