नालीफुङवाहरु महासम्मेलनको तयारीमा जुटे, संस्थापक पदाधिकारीलाई सम्मान गर्ने


माङसेबुङ/किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको तयारी तिब्र गतिमा अघि बढाइएको छ ।

 

यसरी महासम्मेलनको तयारी तिव्र गतिमा अघि बढाउने क्रममा प्रचारप्रसार कार्यक्रम अन्तर्गत पान्जुम्भोका थुम र पाङभे पान्जुम्भोहरुमा भेटघाट तथा महासम्मेलनमा सहभागिताका लागि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिरहेको किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका सचिव योगेश लाओतीले बताए ।

 

त्यसैगरी महासम्मेलनमा नालिफुङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने निर्णय भएको नालीफूङवा पान्जुम्भोका सचिव लाओतीले बताएका छन् । सचिव लाओतीका अनुसार पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय डिल्ली थेबे, हृदय थेगिम र सचिव भगिहाङ नेम्बाङलाई सम्मान गर्न पान्जुम्भोले तयारी गरेको हो ।

 

 

नालीफूङवा पान्जुम्भोले संस्थापक पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विगतका स्थापना दिवसहरुमा संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष वनेम विक्रम फागोलाई सम्मान गरिसकेकोले यस महासम्मेलनमा पान्जुम्भोका संस्थापक उपाध्यक्षद्धय थेबे र थेगिम साथै सचिव नेम्बाङलाई सम्मान गर्ने कार्यक्रम तय गरेको पान्जुम्भोका सचिव लाओतीको भनाई छ ।

 


यसैगरी सोही अवसरमा किरात लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजी भाषाको रुपमा इलामको माङसेबुङ वडा ५, मा लागू भएसँगै प्रसासनिक फाटमा पहिलो कर्मचारी भाषा सचिवको रूपमा नियुक्ती हुनु भएका किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सदस्य सुनिल सेर्मालाई पनि सम्मान गर्ने भएको छ ।

 

यस्तै किरात साम्यो नालिफुङवा पान्जुम्भोको स्थापना दिवसको अवसरमा हरेक वर्ष २ जनालाई प्रदान गर्दै आएको ‘नालीफुङवा जुझारु पुरस्कार २०७७’ यस वर्ष किरात साम्यो नालीफूङवा माङसेबुङ पान्जुम्भोका अध्यक्ष बाइसकुमार राई र पान्थर मिक्लाजङ ५, कुरुम्बा निवासी रेनुका लाओतीलाई प्रदान गर्ने निर्णय भएको पान्जुम्भोका सचिव लाओतीको भनाई छ ।

 

महासम्मेलन आगामी चैत २८, २९ र ३० गते किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा सम्पन्न हुने जनाइएको छ । महासम्मेलन कार्यक्रम अन्तर्गत २८ गते उपस्थित, २९ गते पाँचौं महासम्मेलन समारोह समुद्घाटन र ३० गते बन्द सत्र कार्यक्रम सञ्चालन हुने छ ।