माङसेबुङमा कानूनी साक्षरता कार्यक्रम सम्पन्न


माङसेबुङ/आदिवासी हक अधिकार र पहिचानको मुद्दाकाबारे २ दिने कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

 

इलामको माङसेबुङ ५ निजी गुरु आश्रममा अवस्थित माङपान इङदङहिममा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) का सचिव अधिवक्ता शंकर खापुङ लिम्बूले सहजीकरण गर्नु भएको थियो ।

 

सोमबार र मंगलबार गरी २ दिन सञ्चालन गरिएको सो प्रशिक्षणमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुले धार्मिक आशीर्वचन समेत दिनु भएको थियो ।

आदिवासी जनजातिको परिभाषा र पहिचान, आदिवासीको पहिचानको अधिकार, आदिवासीको भूमि तथा प्राकृतिक स्रोध साधन माथिको अधिकार र आदिवासीको राजनीतिक अधिकार सम्बन्धि आत्म निर्णयको अधिकार, स्वायत्तता, स्वशासन, विशेष र संरक्षित क्षेत्रबारे व्यवस्था, लालमोहर सन्धि, किपट लगायतका विषयमा अधिवक्ता लिम्बूले सहजीकरण गर्नु भएको थियो ।

 

आफ्नौ मातृभाषा र परम्परागत रीतिरिवाज भएका, छुट्टै सांस्कृतिक पहिचान भएका, छुट्टै सामाजिक संरचना भएका र लिखित र अलिखित इतिहास भएका जाति, समुदायलाई आदिवासी जनजाति भनि परिभाषा गरिएको अधिवक्ता लिम्बूको प्रष्ट पार्नु भएको थियो ।

 


प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, प्रशिक्षक अधिवक्ता शंकर खापुङ लिम्बू, गुरु निजी कानुनी सल्लाहकार एन.एस. फागो, सहभागिबाट जुनु माखिम, खिङसेमी सेर्मा लगायतले आफ्ना कुरा राखेका थिए ।

 

गुरु निजी आश्रम कृषि समिति र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।

 

-तस्बीर ः सुमन लाओती