माङसेबुङ/पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा रोयल स्पोर्टिङ क्लब दमक झापा च्याम्पियन बनेको छ ।
धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा अवस्थित आत्मानन्द खेलमैदानमा आईतबार भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै रोयल स्पोर्टिङ क्लब दमक च्याम्पियन बनेको हो ।
दमकको जीतमा निकिता थोकरको एक मात्र गोल नै निर्णायक बन्यो । निकिताले दोस्रो हाफको ११ औं मिनेटमा आकर्षक गोल गर्दै दमकलाई जित दिलाएकी थिइन् ।
उपाधी कव्जा गरेसँगै दमकले नगद पुरस्कार १ लाख १ सय ६५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
यसैगरी उपविजेता टिम माङसेबुङले नगद पुरस्कार स्वरुप ५० हजार १ सय ६५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा सोमबार (फागुन ३ गते) विजेताहरुलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।