माङसेबुङ/पवित्रहाङमा कप फूटबल प्रतियोगितामा एपी.एस.सी. माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक फाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङस्थित आत्मानन्द खेल मैदानमा जारी पवित्रहाङमा कप ११ औं संस्करण अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै रोयल स्पोर्टीङ क्लब दमकले फाइनलको यात्रा पक्का गरेको हो ।
टिमलाई उपाधिको दाबेदार बनाउन दमककी दीपा साहीले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन । भने, २९ औं मिनेटमा रोयलले पाएको फ्रि किकमा धरानकी सुनाली लिम्बूको हेटिङबाट आत्माघाति गोल लागेपछि रोयलले जित सुनिश्चित गरेका हुन् ।
धरानले खेलको मध्यान्तर पश्चात खेलको ७ औं मिनेटमा वविता विकले धरानका लागि गोल गरेकी थिइन् । यसरीनै शनिबारनै सञ्चालन भएको दोश्रो चरणको सेमीफाइनल खेलमा एपी एस सी माङसेबुङले माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै माङसेबुङले फाइलनमा स्थान पक्का गरेको छ ।
माङसेबुङकी लक्ष्मी ठटालले खेलको ३ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन । हाफपछि भएको खेलमा २ औं मिनेटमा पुनः लक्ष्मीले नै गोल गरी अग्रतालाई दोब्बर बनाइन । यसरी लक्ष्मीले ११ औं पवित्रहाङमा कपमा ६ गोल गर्दै ह्याट्रीक समेत गरेकी छन् ।
सेमीफाइनल खेलमा वुमन अफ दी म्याच धरानकी सुस्मीता राई र चतराकी गंगा राई घोषित भएकी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही ३ हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन ।
आगामी फागुन २ गते (आइतबार) फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।
पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।
विगत वर्षहरुझैं यसवर्ष पनि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा पवित्रहाङमा कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो ।