पवित्रहाङमा कप ः धरान र चतरा सेमी फाइनलमा प्रवेश

माङसेबुङ/पवित्रहाङमा कप ११ औं संस्करण खेलकुद प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी सेमी फाइनलमा प्रवेश गरेको छ ।

 

इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा खदम स्पोर्टिङ क्लब मोरङलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै धरान सेमी फाइनलमा प्रवेश गरेको हो ।

 

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको हो । खेलमा धरानकी समिक्षा मगरले तेस्रो मिनेटमा गोल गर्दै धरानलाई अग्रता दिलाएकी थिइन् ।

 

तर, पहिलो हाफको इन्जुरी समयमा ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् ।

 

ट्राइब्रेकरमा अनिता लम्जेलको प्रहार गोल पोष्टमा लागेर बाहिरिएपछि खदम क्वाटरफाइनलबाटै बाहिरिएको हो । खेलको प्लेयर अफ दि म्याच धरानकी समिक्षा घोषित भएकी छन् ।

 

यसरीनै शुक्रबारनै सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा सतिसाले एफ. सी. मोरङलाई २–१ ले हराउदै माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतराले पनि सेमी फाइनलमा आफ्नो यात्रा सुरक्षित गरेका छन् ।

खेलको ५ औं मिनेटमा सतिसालेकी कोपिला लिम्बूले पहिलो गोल गर्दै सतिसालेलाई अग्रता दिलाएपनि माउण्ट एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीका लागि खेलको १६ औं मिनेटमा पवित्रा राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

 

मध्यान्तर पश्चात बैकल्पिक खेलाडीको रुपमा मैदान प्रबेश गरेकी चतराकी रचना राईले खेलको ६४ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाइन । खेलको प्लेयर अफ दि म्याच चतराकी पवित्रा घोषित भइन् ।

 

मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ६५ औं जन्मोत्सव तथा मुहिगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई सेमी फाइनल खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र ए.पि.एस.सी दार्जिलिङबीच हुने आयोजक समितिले जनाएको छ ।

 

फूटबलको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।