नालीफूङवा पान्जुम्भोको पाचौं महासम्मेलन माङसेबुङमा हुने


मुसाहाङ अम्याङसा
माङसेबुङ/किरात धर्म सम्बद्ध युवाहरुको साझा संगठन किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महासम्मेलन हुने भएको छ ।

 

पान्जुम्भोको केन्द्रीय महासम्मेलन आगामी चैत २९ र ३० गते धार्मिक पर्यटकीय क्षेत्र इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा न. ५, माङसेबुङमा अवस्थित पान्जुम्भोको केन्द्रीय कार्यालयमा आयोजना गरिन पान्जुम्भोका सचिव योगेश लाओतीले बताए ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा किरात साम्यो नालीफूङ्वाहरुको बृहत् उपस्थितिमा महासम्मेलन भव्य समारोहको साथ सम्पन्न गरिने पान्जुम्भोले जनाएको छ ।

 

नालीफूङ्वा पान्जुम्भोको महासम्मेलन तयारीको लागि शनिबार बसेको नालीफूङ्वा केन्द्रीय समितिको बैठकले पाँचौ केन्द्रीय महासम्मेलन माङसेबुङमा आयोजना गर्ने निर्णय गरेको हो ।

 

किरात धर्ममा लामो समय योगदान गर्नु हुने पूर्व नालीफूङ्वा मुजोलुङ पान्जुम्भोका २ जना व्यक्तित्वहरुलाई सम्मान गर्ने र १ महिला र १ पुरुषलाई नालीफूङ्वा जुझारु पुरस्कार (२०७७) प्रदान गर्ने समेत निर्णय भएको पान्जुम्भोका केन्द्रीय सचिव लाओतीले बताए ।

स्थापना दिवसको अवसरमा प्रदान गरिदैं आएको नालीफूङ्वा जुझारु पुरस्कार कोभिडका कारण स्थापना दिवसमा प्रदान गर्न नसकिएकोले सम्मेलनको अवसरमा प्रदान गर्ने निर्णय भएको सचिव लाओतीको भनाई छ ।

 

महासम्मेलन कार्यक्रममा प्रत्येक जिल्ला, गाउँपालिका, नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजकले बताएको छ । बैठक नालीफूङवा पान्जुम्भो केन्द्रीय अध्यक्ष दीपक तिगेलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।