माङसेबुङलाई किरातहरुको चोत्लुङको रुपमा विकास गर्नुपर्छ ः आत्मानन्द सेईङ


माङसेबुङ/किरातीहरुको चोत्लुङको रुपमा माङसेबुङलाई विकास गर्ने सपना रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङले बताउनु भएको छ ।

 

येहाङमुक कोक्मा ताम्भुङला ताङसेप चुम्भोको आयोजनामा शुक्रबार माङसेबुङ ५ अमदेन टोलमा आयोजित कार्यक्रममा आशीर्वचन दिनुहुँदै वहाँले सो कुरा बताउनु भएको हो ।

 

अङसीमाङ भन्नुभयो ‘रिङरोड माथी ध्रुवताराको सिधा पर्ने गरी माङहिम निर्माण गर्ने र माङहिममा जानलाई रिङरोडको चारै सुरमा लिफ्ट निर्माण गर्नु पर्छ ।’

 

माङसेबुङको रिङरोड परिसर माथीको सबै जग्गामा विभिन्न खालका बोटबिरुवा रोपेर हराभरा सुन्दर बनाई धार्मिक पर्यटकीय थलो बनाउनु पर्ने अङसीमाङले आशीर्वचनमा सुनाउनु भएको छ ।

 

‘पशुपति, महाकाली लगायत विभिन्न ठाउँको माङहरु यहाँ आएर बसेको देखेको छु । त्यसैले यो क्षेत्रलाई साच्चै माङहरुको बास स्थान बनाउनु पर्छ ।’ अङसीमाङले थप्नु भयो ‘माङसेबुङलाई माङहरुको बासस्थान बनाउनु पर्छ ।’

 

चुम्भोको कार्यालय उदघाटन तथा रिङरोड माथीको स्थानमा बोटबिरुवा रोप्ने र प्राकृतिक रुपले मनोरम बनाउने प्रतिबद्धता जनाउन कार्यक्रम आयोजना गरेको चुम्भोका अध्यक्ष इन्द्रहाङ आङदेम्बेले बताए ।

 

कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा न. ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, गुरु निजी कानुनी सल्लाहकार एन एस फागो लगायतले शुभकामना मन्तव्य राखेका थिए । चुम्भोका अध्यक्ष इन्द्रहाङ आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सञ्च सङबाङफेले स्वागत मन्तव्य राखेका थिए भने आन्छुमे नसानले सञ्चालन गरेका थिए ।