किरात धर्म लेखौं अभियान भेला सम्पन्न


माङसेबुङ/राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत किरातजन्य संघ संगठनसँग प्रथम चरणको जिल्ला स्तरीय संयुक्त भेला सम्पन्न गरिएको छ ।

 

झापाको माइधारस्थित किरात खिजोत्लुङ माङहिममा शनिबार आयोजना गरिएको झापा जिल्ला स्तरीय भेलामा किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिम प्रमुख अतिथि रहुनु भएको थियो ।

 

आसन्न जनगणनामा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन र किरातजन्य जातीय संघ संगठनहरुसँग समन्वयन गरी किरात धर्म लेखौं अभियानलाई सशक्त रुपमा सञ्चालन गर्न किरात धर्म सम्बद्ध संघ सस्था एवंम सामाजिक संघ संस्थाहरुको संयुक्त भेला आयोजना गरिएको जनाइएको छ ।

भेलामा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला समिति झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ जिल्ला समिति झापाका अध्यक्ष भक्त खेवाङ, सुनुवार सेवा समाज जिल्ला समिति प्रतिनिधि भीम सुनुवनर, नेपाल माझी उत्थान संघ जिल्ला समितिका प्रतिनिधि मणिकुमार माझी, किरात राई यायोखा जिल्ला समिति झापाका प्रतिनिधिहरुको उपस्थिती रहेको आयोजकले बताएको छ ।

 

त्यसैगरी भेलामा किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिको सह कोषाध्यक्ष हिमाल बेघा, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा, किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङ लगायतका अतिथिहरुको समेत उपस्थित रहेको थियो ।

 

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समितिको अध्यक्ष समेत रहेका किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समिति जिल्ला कार्य समिति झापाका अध्यक्ष शिवकुमार योङयाको अध्यक्षतामा आयोजना गरिएको भेलालाई अभियानका सचिव तथा संघका जिल्ला सचिव नन्दराज योङहाङले सञ्चालन गरेका थिए ।

 

सो भेला किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमिति जिल्ला कार्य समिति झापाको आयोजनामा सम्पन्न भएको थियो ।