किरात धर्म लेखौं अभियानमा चार विद्यार्थी संगठनको एकता


काठमाडौं/किरात समुदायका चार वटा विद्यार्थी संगठनहरु एकता भई ‘किरात विद्यार्थी समन्वय समिति’ गठन गरेका छन् ।

 

किरात राई विद्यार्थी संघ, सुनुवार विद्यार्थी समाज, लिम्बु विद्यार्थी मञ्च र किरात याक्खा विद्यार्थी संघलाई मिलाएर किरात विद्यार्थी समन्वय समिति गठन गरिएको हो ।

 

समितिको संयोजकको जिम्मेवारी किरात राई विद्यार्थी संघबाट संघका अध्यक्ष रामचन्द्र राईलाई दिइएको जनाइएको छ । समितिले आगामी २०७८ सालमा हुने १२ औं राष्ट्रिय जनगणनामा समुदायको वास्तविक तथ्यांक निकाल्ने प्रयासका लागि विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।

समितिले विहिबार काठमाडौंको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी जनगणना सम्बन्धी अपिल समेत जारी गरेको छ । समितिका संयोजक राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मको महलमा लेख्नुपर्ने विषय उल्लेख गरी संयुक्त अपिल पत्र सार्वजनिक गरिएका हुन् ।

 

अपिल पत्रमा सुनुवार विद्यार्थी समाजका अध्यक्ष सागर सुनुवार, किरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राई, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष दीपा लक्सम र किरात याक्खा विद्यार्थी संघका अध्यक्ष भरत याक्खाले हस्ताक्षर गरेका छन् ।

पत्रकार सम्मेलनमा समितिका संयोजक राईले आगामी राष्ट्रिय जनगणनामा किरात समुदायको वास्तविक तथ्यांक निकाल्नका लागि आफूहरुले समिति गठन गरी कार्यगत एकता गरेको बताए । अपिल पत्रमा सुनुवार, राई, लिम्बु र याक्खाले जातिको महलमा आ-आफ्नो जाति लेख्ने र धर्मको महलमा किरात लेख्ने उल्लेख छ ।

 

यसअघि किरात समुदायका ८ वटा जातीय संस्थाले समेत किरात समन्वय समितिमार्फत आगामी जनगणनामा धर्मको महलमा किरात लेख्ने घोषणा गरेका थिए । उनीहरुले आआफ्नो समुदाय र क्षेत्रमा जनगणना सम्बन्धी अभियान चलाउने बताएका छन् ।

 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल प्रमुख अतिथि थिए । उनले नेपालमा २०६८ सालको जनगणनासम्म आइपुग्दा पनि वास्तविक तथ्यांक निस्कन नसकेको र आदिवासीहरुले तथ्यांकलाई मिथ्यांककै रुपमा लिइरहेको बताएका थिए ।