किरात धर्म लेखौं अभियान समितिको संगठन विस्तार


दमक/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन राष्ट्रिय व्यापी अभियान सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिले झापामा संगठन विस्तार गरेको छ ।

 

झापाको माइधारस्थित किरात खिजोत्लुङ माङहिममा किरात धार्मिक संस्थाहरुको संयुक्त भेलाले सो जिल्ला समन्वयन समिति गठन गरेको हो ।

 

किरात धर्म सम्बद्ध संघ सस्था एवंम सामाजिक संघ संस्थाहरुको संयुक्त भेलामा किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिको सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको समुपस्थितीमा महा समितिको मातहत समितिको रुपमा जिल्ला समन्वयन समिति गठन गरिएको हो ।

आसन्न जनगणनामा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गरिएको सह अध्यक्ष थेगिमले बताएका छन् ।

 

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समितिका अध्यक्ष शिवकुमार योङयाको अध्यक्षतामा जिल्ला समन्वयन समिति गठन गरिएको हो । यसरी गठित समितिमा सचिव नन्दराज योङहाङ, कोषाध्यक्ष छत्र माया लिम्बू रहेका छन् । समितिको बाँकी रिक्त उपाध्यक्ष र केही पदाधिकारी साथै सदस्य पदलाई आगामी बैठकले पूर्ति गर्ने समितिका अध्यक्ष योङयाले बताएको छ ।

 

यसरी गठन भएको जिल्लामा समन्वयन समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरु किरात साम्यो नालीफूङवा पान्जुम्भो, किरात साम्यो माङसेवासाबा पान्जुम्भो, किरात साम्यो थामेन्दीङमा पान्जुम्भो लगायतका संघ संगठनको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।

 

शनिबार सम्पन्न भेलामा अभियान महा समितिका सचिव ज्ञानु केदेम र कार्यकारिणी समितिका सदस्य गुमानसिं सम्बाहाङफेको उपस्थिति रहेको थियो । किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समितिका अध्यक्ष शिवकुमार योङयाको अध्यक्षतामा आयोजना गरिएको भेलालाई संघका जिल्ला सचिव नन्दराज योङहाङले सञ्चालन गरेका थिए ।