महागुरु फाल्गुनन्दको तस्बिर दुरुपयोग गरिएकोमा संघको आपत्ति


माङसेबुङ/हिन्दू राज्यको माग गर्दै हुने प्रदर्शनकारीको ब्यानरमा किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको फोटो प्रयोग हुने गरेकोमा किरात धर्म तथा साहित्य उत्थान संघले आपत्ति जनाएको छ ।

 

 

संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले एक विज्ञप्ति जारी गर्दै, धर्म निरपेक्षताको पक्षमा रहेको किरात धर्मको विशिष्ठ व्यक्तिको तस्बिर दुरुपयोग गरिएको भन्दै आपत्ति जनाएका हुन् । साथै, यस्तो काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह समेत अध्यक्ष थेगिमले गरेका छन् ।

 

विज्ञप्तिमा लेखिएको छ, ‘हाल मुलुकमा स्थापित संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र मुलुकको समृद्धि, शािन्त र अमनचैन नचाहने केही प्रतिक्रियावादी अति हिन्दूवादी तत्वहरुले मुलुकलाई हिन्दू राष्ट्र कायम गराउन र धर्म निरपेक्षताको संवैधानिक व्यवस्थालाई खारेज गर्न माग गर्दै सनातन संस्कृति समाज नेपाल केन्द्रीय समितिले गरिरहेको आन्दोलनको ब्यानरमा किरात धर्म दर्शनका पुनः उत्थानकर्ता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको तस्बिर राखिएको प्रति किरात धर्मको सर्वोच्च संस्था किरात धर्म तथा साहित्य उत्थान संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

विज्ञप्तिमा भनिएको छ, ‘यसरी धर्म निरपेक्षताको आन्दोलनमा अनवरत लागि परेको किरात धर्मको विशिष्ठ व्यक्तित्वको तस्बिर दुरुपयोग नगर्न नगराउन सम्बन्धित पक्षलाई अनुरोध छ।’