माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ ।
समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार शुक्रबार (आज) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ ।
त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार), अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ ।
हरेक वर्ष मंसिर १८ र १९ गते वृहत रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कोरोनाको जोखिमका कारण यसवर्ष सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सामाजिक, भौतिक दुरी कायम गरी कार्यक्रम मनाइएको छ ।
समारोहको कार्यक्रम अन्तर्गत बिहीबार समुद्घाटन पश्चात नोमाङगेन्ना सेवा र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
समारोहको समापन कार्यक्रम पनि शुक्रबार नै हुने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएको छ ।