अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सवमा सार्वजनिक विदा


माङसेबुङ/किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको जन्मोत्सवमा सार्वजनिक विदा दिइएको छ । इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।

 

 

बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवाको अवसरमा स्थानीय सार्वजनिक विदा दिइएको माङसेबुङ गाउँपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

 

 

गत वर्षदेखि नै माङसेबुङ गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई गाउँपालिकाले यसवर्ष पनि निरन्तरता दिएको जनाइएको छ । सो निर्णयलाई किरात धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका थिए ।

 

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले किरात समुदायमा पुर्याएको योगदानको सम्मान स्वरुप सार्वजनिक विदा दिइएको मागसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।

 

 

१८ मंसिरमा विभिन्न मुलुकका किरात धर्मावलम्बीहरुको सहभागितामा धर्मगुरुको जन्मोत्सव मनाउने गरिएको छ । यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको पालना गर्दै जन्मोत्सव मनाइने छ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।