माङसेबुङ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दको १३६औं जन्मजयन्ती आज(मंगलबार) धुमधामका साथ मनाइएको छ ।
मंगलबार पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, काठमाण्डौं लगायतका किरात माङहिमहरुमा किरात धर्मावलम्बीहरुले बिभिद कार्यक्रहरुका साथ नाम्धुङ लाधुङ सेमी सेवा र शुभकामना आदान प्रदान गर्दै महागुरु फाल्गुनन्दको १३६औं जन्मजयन्ती धुमधामका साथ मनाइएको हो ।
फाल्गुनन्दले समाज सुधारका लागि खेल्नुभएको भूमिकाको कदर गर्दै नेपालको अलावा भारत, भुटान, बर्मा, अमेरिका, अष्ट्रेलिया, क्यनाडा, हङकङ, बेलायत, मलेसिया लगायत किरात धर्मावलम्बी रहेका बिभिन्न मुलुकहरुमा समेत किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी विभिन्न कार्यक्रम आयोजना गरी महागुरु फाल्गुनन्द जन्मजयन्ती धुमधामका साथ मनाईएको छ ।
बि.सं १९४२ साल कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ चुक्चिनाम्बामा जन्मिनुभएका फाल्गुनन्दले समाज सुधारका लागि खेल्नुभएको भूमिकाको सम्मान गर्दै उहाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिएको हो ।
किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्द जन्मजयन्तीको दिन हरेक वर्ष कात्तिक २५ गते किरात पर्वका रुपमा जन्मजयन्ती मनाउने गर्दछन् ।
तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण किरात माङहिमहरुमा साथै बिशेष स्थानहरुमा सामाजिक तथा भौतिक दुरी कायम गदै सिमत भक्तजनहरुको भेलामा सरुक्षित रहदै महागुरु फाल्गुनन्द जन्मजयन्ती धुमधामका साथ मनाईएको हो ।
यसैगरि फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश दिनुहुदै राष्ट्रपति विद्यादेवी भण्डारीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
महागुरु फाल्गुनन्द
तत्कालीन किरात समाजमा प्रचलित कुरीति कुसंस्कारलाई हटाई सभ्य र शिक्षित समाज स्थापनाको लागि महागुरु फाल्गुनन्दले वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको चोकमागु ३ लब्रेकुटीमा तत्कालीन १७ थुम १० लिम्बुवानका गन्यमान्य, सुब्बा, बुद्धिजीवीहरुको महाचुम्लुङ आयोजना गरी ऐतिहासिक रुपमा ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । यसरी लेखिएको मुचुल्काले समानता, अहिंसा, शान्ति र एकताको मार्गदर्शन गरेको छ ।
सो मुचुल्कामा छोरी चेलीको सोतरीत नखानु, छोरा छोरीमा समान व्यवहार गर्नु, जीव हत्या हिंसा नगर्नु, मासु मंस जाँड रक्सी सेवन नगर्नु, फजुल खर्च नगर्नु, मातृभाषामा शिक्षा लिनु र माङहिम निर्माण गर्नु भन्ने जीवन दर्शनहरु रहेका छन् । यसरी महागुरुको पहलमा लेखिएको मुचुल्काले किरात समाजलाई सुधार गर्न र किरात धर्म दर्शन चौतर्फी फैलिनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । महागुरुले निर्माण गर्नु भएको मुचुल्काको महिमा फैलिन्दै जानेक्रमसँगै वहाँको मार्ग दर्शन र जन्मजयन्ती पनि संसारभर फैलिन्दै गएको छ ।
वि.स. २०६६ साल मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको महागुरु फाल्गुनन्दको जन्मदिनलाई किरात समुदायले पर्वको रुपमा विकसित गर्दै लगेका छन् । यस दिनलाई किरात धार्मिक संस्थाहरुले वि.स. २०७१ साल बैशाख २४ गते किरात धार्मिक चाडपर्वको रुपमा घोषणा समेत गरेका थिए ।
यसरी पर्वको रुपमा मनाउदै आएको जन्मजयन्ती कार्यक्रमको अवसरमा माङ सेवा आयोजना गर्ने, पारिवारीक भेटघाट हुने अवसरका रुपमा प्रत्येक घर घरमा दीपावली गरी खुशीयालीका साथ मनाउने गरेको छ । यो अवसरमा सामाजिक सञ्जाल फेसबुक, मोवाइल, सञ्चार माध्यमबाट र सभा, गोष्ठी, सम्मेलन आयोजना गरी शुभकामना आदानप्रदान गर्ने चलन बढ्दै गएको छ ।
इलामको माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ– ५, चुक्चिनाम्बा डाँडागाउँमा लिङ्देन दम्पति जगनवाज र हंसमति बेघाको साइला सुपुत्रको रुपमा वि.स. १९४२ साल कार्तिक २५ गते आइतबारका दिन जन्मन्नु भएका महागुरु फाल्गुनन्द ६३ वर्षको उमेरमा वि.स. २००५ साल चैत २२ गते परमधाम हुनुभएको थियो ।
जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ
महागुरु फाल्गुनन्दको सत्य, शान्ति, अहिंसा र समानताको मूल मार्गदर्शन पछिल्लो समयमा विश्वमा फैलिंदै गएकोले र वहाँको दर्शन अंगिकार गर्ने समुदाय विशेषगरी किरात धर्मावलम्बीहरु विभिन्न मुलुकमा बसोबास गर्दै आएकोले वहाँको जन्मजयन्ती पनि संसारभर मनाउन थालिएको छ । यसरी किरात धर्मावलम्बीहरुको बढ्दो जनसंख्या र महागुरुको जीवन उपयोगी मार्गदर्शनले वहाँको जन्मजयन्तीको गरिमा वर्षेनी बढ्दै गएको छ ।
महागुरुको जन्मजयन्ती नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, सुनसरी, खोटाङ, संखुवासभा, भोजपुर, उदयपुर, कास्की, काठमाण्डौं, भक्तपुर, ललितपुर लगायत विभिन्न जिल्लाका सदरमुकामहरुमा भव्य मनाउने गरिएको छ । यसरीनै किरात धर्मावलम्बीहरुले स्थापना गरेको प्रत्येक माङहिमहरुमा र महागुरुको प्रतिमाहरुमा मात्र नभई घर घरमा दीपावली गरी जन्मजयन्ती मनाउने गरेको छ ।
यसरीनै भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायत विभिन्न प्रान्तहरुमा पनि महागुरुको जन्मजयन्ती मनाउने गर्दछन् । त्यसैगरी हङकङ, बर्मा, भुटान, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान, साउदी, कतार, मलेसिया, ब्रुनाई, दुबई, बहराइन, इजरायल लगायत विभिन्न मुलुकहरुमा बसोबास गर्नुहुने किरात समुदायले महागुरु फाल्गुनन्दको जन्मजयन्ती हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
जन्मजयन्तीमा सार्वजनिक बिदा
किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीमा संघीय सरकार र प्रदेश सरकारहरुले सार्वजनिक बिदा नदिएपनि स्थानीय तहले भने बिदा दिन सुरु गरेका छन् ।