वि.स. २०६५ कातिक २५ गते पान्थरको गोपेटारमा मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १२४ औं जन्मजयन्ती कार्यक्रमको पावन अवसरमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनुभएको माङ आशीर्वचन ः
ओत् तागेरा निङवाभूमाङे सेवारो,
उपस्थित विद्वान मित्र, पत्रकार बन्धु, प्रशासननिक क्षेत्रका प्रतिनिधि र यहाँ पाल्नुभएका तमाम गाउँगाउँका भक्तप्रेमी मित्रहरु ।
आज यस गोपेटार माङहिम उद्घाटन गर्ने अवसर तपाईहरुले दिनुभएकोमा मलाई ज्यादै खुशी लागेको छ । यस विकट ठाउँमा यतिका भक्तजन भेला हुनु ठूलो कुरा हो । मित्रहरुमा म के भन्छु भने जहाँ पाप फैलन्छ, त्यहाँ धर्मले जन्म लिन्छ । र, धर्मको विजय हुन्छ । कुरीति, कुप्रथा र कुसंस्कारमा चुर्लुम्म डुबेको हाम्रो समाजलाई उद्धार गर्नका निमित्त जन्मनु भएका महागुरु फाल्गुनन्दको १२४औं जन्मजयन्तीको अवसरमा हामी जम्मा भएका छौं । वहाँको महान् वाणी, दिव्यवाणी धेरै छन् । वहाँ फक्ताङलुङ (कुम्भकर्ण) हिमाल जाँदा आउँदा यसै थलोमा बस्ने गर्नुहुन्थ्यो । यहाँ माङहिम स्थापना भयो । यो तपाईंहरुको सौभाग्यको दिन हो । यो माङहिम तपाईंहरुकै हो ।
ज्ञान भन्ने कुरा अमूल्य हुन्छ । जुनसुकै शिक्षा लिए पनि शुरुमा तीतो हुन्छ । तर, पछि गुलियो हुन्छ । जस्तै ः नानीलाई स्कूल लगेर पढाउँदा निकै डराउँछ । पछि बानी भएर आफैं पढ्न जान्छु भन्छ । त्यस्तै, मान्छेले धर्ममा ध्यान दिनु, चित्त दिनु, तन, मन, धन दिनु गाह्रो मानिन्छ । तर, धर्म बेगर केही हुँदैन । संसारमा जसको धर्म छैन, त्यो प्राणीमा गन्ती नै आउँदैन । जसको धर्म छ, त्यो प्राणीमा गन्ती आउँछ । धर्म बेगरको मान्छे हुँदैन ।
किरात धर्मले के भन्छ भने हामीले देव, देवताको नाममा सेवा (पूजाआजा) गर्दा बलीपूजा गर्नु हुँदैन । हाम्रो उभौली, उधौली गर्ने चलन छ । त्यसबेला हामीले फल फूल चढाएर सेवा गर्नुपर्छ भन्ने महागुरुको सन्देश छ । र, यहीँ सन्देश दिन र हामीमा शान्ति होओस्, रक्तपात नहोस् भन्नका खातिर म शान्ति यात्रा गर्न लागेको छु । तपाईंहरुको निमन्त्रणामा म यस ठाउँमा आइपुगे ं। यसअघि पनि म यस ठाउँमा आएर बसेको छु । फक्ताङलुङ तीर्थयात्रा गर्दा यहाँ बास बसेको छु । त्यतिबेला मैले के सम्झेको थिएँ भने यहाँ त बाजेहरु छन् अरे । यहाँ त उहिले लिङ्देन मेरा बन्धुहरु, दारी भन्नेहरु थिए भन्ने कथा सुनेको थिएँ ।
तपाईहरु धर्ममा निर्लिप्त हुनुभयो । तपाईहरुले सही बाटो समात्नुभएको छ । यो बाटो कहिल्यै छोड्नु हुँदैन । धर्म भन्ने चिज गर्न गाह्रो हुन्छ । उकालो चढ्न निकै गाह्रो हुन्छ । धर्म गरेर उकालो चढ्न निकै गाह्रो छ । ओह्रालो जानु, विग्रनु भत्कनु त समय लाग्दैन नि । तर, खुशी लागेको छ, तपाईहरु धर्ममा लाग्नुभएको छ । माङहिम निर्माण गर्नुभएको छ । सेवा गर्नुभएको छ । यो सेवा विश्व शान्तिका निमित्त हो ।
विश्व शान्ति र मानव एकताका लागि सबै लाग्नु पर्छ । जसका लागि सबैले ज्ञान सिक्नु पर्छ । हामीले असल कुरालाई सिक्ने र खराब कार्य छाड्नु पर्छ । सत्य बाटोमा हिँड्नु पर्छ । त्यो हाम्रो परम कर्तव्य र धर्म हो । त्यसैले म यहाँका दिदीबहिनी, शिक्षक, बुद्धिजीवी, मान्यजन र नेताहरु सम्पूर्णमा जनतालाई मार्नु हुँदैन । शान्ति हुनुपर्छ। शान्तिसँग शासन संंचालन गर्नुपर्छ । शान्ति बेगर कसरी शासन चल्छ ? कसरी विकास हुन्छ ? भन्न चाहन्छु ।
यसै भूमिमा बुद्ध, फाल्गुनन्द जन्मेका हुन् । हामी पनि आएका छौं, तपाईहरुकै निमित्त । तपाईले उज्यालो बाटो, पवित्र बाटो समाउनुस् । शान्तिको बाटोमा हिँड्नुस् । म यही सन्देश दिन चाहन्छु । मेरो समय छोटो भएकाले मैले जाने बेला भएको छ । मलाई यहाँ बस्ने मन थियो । तर, आज मैले धेरै ठाउँ पुग्नु पर्ने भएकाले यति मात्र बोल्छु । तपाईहरुले हाँकेका, ताकेका सम्पूर्ण कुरा पूर्ण होस् । तागेरा निङवाभूमाुङले तपाईंहरुको रक्षा गरोस् । यहाँ हामी विभिन्न जात जाति छौं । हामी सबै माङको फूलबारी हौ ं। हामी सबै माङका सन्तान हौं । हामी सबैलाई माङले रक्षा गरुन्।
हामीले चिताएको सफल होस् । हामीमा माङले शान्ति प्रदान गरुन् भन्ने कामना गर्दै आज १२४औं फाल्गुनन्द जन्मजयन्तीको अवसरमा हामी सबैलाई महागुरुले ज्ञान दिऊन् । हामी सबैको आत्मामा शान्तिको बत्ती बलोस् । यही शुभकामना र आशीर्वाद दिँदै बिदा लिन चाहन्छु । आसेवारो । तियाहा, तियाहा ।
साभार ः किरात धर्म ः अहिंसा, शान्ति र मुक्तिको मार्ग