माङसेबुङ/किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिको बैठक सम्पन्न गरिएको छ । बुधबार महा समितिको केन्द्रीय कार्यालय इलामको माङसेबुङ ५, भालुटारमा बैठक सम्पन्न गरिएको हो ।
बैठकले धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन राष्ट्रिय व्यापी अभियान सञ्चालन गर्न अवधारणा पत्र तयार पार्न महा समितिका उप महासचिव आङबुहाङ अबोध अविरलको संयोजकत्वमा अवधारणा पत्र मस्यौदा लेखन समिति गठन गरिएको छ ।
यस समितिमा क्रमशः होमबहादुर लिङ्देन, नन्दकुमार नेम्बाङ, डिबी लिङदम, पूर्ण कार्की ढोली, उदय विक्रम तुम्बापो, ज्ञानु केदेम र सरिता राई रहेका छन् ।
सो बैठकले कोषाध्यक्ष प्रकाश सावदेनले प्रस्तुत गरेको आर्थिक नीतिलाई समेत पारित गरेको छ । महा समितिको अभियान सञ्चालन गर्न आवश्यक समन्वयन गर्न विभिन्न जातीय समन्वयन विभाग र सरकारी, गैर सरकारी तथा धार्मिक सञ्जाल समन्वय विभागीय संयोजकहरुले आफ्ना जिम्मेवारीलाई निर्वाह गर्न आवश्यक नीति निर्देशन समेत बैठकले दिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिका अध्यक्ष केहेरसिं योङहाङले जनाएको छ ।
त्यसैगरी महा समितिको उप समिति अन्तर्गत प्राविधिक उप समितिको सदस्यहरुमा सुमन लाओती, सुनिल सेर्मा, प्रविन सेलिङ, सेन्छेहाङमा एवाई, सरिता राईलाई मनोनयन गरिएको महा समितिले जनाएको छ ।
बैठक किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।