माङसेबुङ/राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्न, लेखाउन राष्ट्रिय व्यापी अभियान सञ्चालन गर्न गठन गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिको कार्यविधि अनुमोदन भएको छ ।
बुधबार केन्द्रीय किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा आयोजित महा समितिको कार्यकारिणी समिति र किरात धार्मिक संघ संस्थाहरुका प्रतिनिधिहरु सहितको बैठकले सो कार्य विधि अनुमोदन गरेको हो ।
मस्यौदा समितिले तयार पारेको कार्य विधिलाई व्यापक छलफल गरी आएका सल्लाह सुझावलाई समेत समेटेर कार्यकारिणी समितिले अनुमोदन गरेका हुन ।
सो कार्य विधि अनुसार प्रमुख संरक्षक किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले तोक लगाएपछि लागू हुने भएकोले अब लागू गर्ने बाटो खुलेको किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।
महा अभियानको कार्य विधि मस्यौदा निर्माण गर्न महा समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजनमा ९ सदस्यीय मस्यौदा निर्माण समिति समेत गठन गरिएको थियो । यस मध्ये होमबहादुर लिङ्देन, नन्दकुमार नेम्बाङ, आङबुहाङ अबोध अविरल, ज्ञानु केदेम, काकीराम लाओती र प्रकाश सावदेनले मस्यौदा लेखन गरेका थिए ।
बैठकले रिक्त उप महासचिव पदमा आङबुहाङ अबोध अविरल (मनकुमार) लाई र सहकोषाध्यक्ष पदमा चन्द्रा सेन्दाङलाई मनोनित गरेको महा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएको छ ।
महा समितिका अध्यक्ष योङहाङका अनुसार शुक्रबार राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौं महा अभियानको घोषणा सभा साथै महा समितिको केन्द्रीय कार्यालय उद्घाटन समेत हुने छ ।