माङहिम आगजनीमा संलग्नलाई कार्वाहीको माग गर्दै जाहेरी दर्ता

माङसेबुङ/किरात खाम्बुलिङ हाङसाम नाहाङमायक माङहिमलाई तोडफोड गर्ने हेतुले आगजनी गरेपछि सो घटनामा संलग्न दोषीलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किटानी जाहेरी दिएको माङहिम सञ्चालक समितिले जनाएको छ । जाहेरी सञ्चालक समितिले शुक्रबार दर्ता गराएका हुन् ।

 

 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २, (साविक खेजेनिम ५) मा अवस्थित सो माङहिममा गत सोमबार रात्रीकालीन समयमा केही अज्ञात समूहले आगजनी गरेको सञ्चालक समितिले जनाएको छ । सञ्चालक समितिका अनुसार सो घटना हुनु पूर्व पटक पटक माङहिमलाई भत्काइदिने धम्की आउने गरेको थियो ।

 

 

त्यसैगरी माङहिम तोडफोड र आगजनी गर्ने हेतुले गरिएको अपराधिक कार्यको निन्दा गर्दै किरात धर्म तथा साहित्य उत्थान संघले प्रेस विज्ञप्ती समेत जारी गरेको छ । किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम र मुख्य सचिव संकल्प लिङ्देनले संयुक्त हस्ताक्षर गरी बिहीबार जारी गरिएको सो विज्ञप्तीमा अपराधिक घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘माङहिम तोडफोड गर्ने हेतुले गत २०७७ साल साउन २७ गते सोमबार रात्रीकालीन समयमा केही अज्ञात अपराधिक समुहले पूरै भरिएको ग्यास सिलिन्डरलाई वरिपरी बोराले बेरी करिब २५ र ३० लिटर मट्टितेल छर्की आगो लगाई आगजनी गरेकोमा गम्भिर आपत्ती जनाउदै कार्बाहीको माग गर्दछौ ।’

 

 

विगतमा समेत यस्तै अपराधिक समुहबाट तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको त्रिबेणी संगम स्थल मेन्छ्यायेम कोक्मा (डाँडा) मा निर्माणाधिन किरात मेन्छ्यायेम युमा माङहिम रातकै समयमा ताडफोड गरि भत्काउने र फक्ताङलुङ गाउँपालिका ६, लेलेपको तागेरा निङवाभुमाङ फुक्कु कोपियकमा महागुरु फाल्गुनन्दको शालिक स्थापनार्थ तयारी अवस्थामा रहेकोलाई समेत रातकै समयमा तोडफोड गरेको विज्ञप्तीमा जनाएको छ ।

 

 

यस खाले विध्वंसकारी, असामाजिक गतिविधिमा संलग्नको पहिचान गरी कानुनी कठ्घरामा ल्याई दोषी उपर सशक्त रुपमा कार्बाही गर्न स्थानीय प्रशासन, स्थानीय सरकार र नेपाल सरकार समक्ष जोडदार रुपमा माग समेत गरेको छ ।

 

 

यसरी नै सो घटनाको बारे किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले शुक्रबार विज्ञप्ती जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज लिम्बू वनेमद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘आपसी हित, सामाजिक सद्भाव, भातृत्व, वैचारिक एंवम धार्मिक विविधता, सह अस्तित्व, सहिष्णुता लगायतमा खलल पु¥याउने उक्त विध्वशांत्मक प्रयास गर्नु गलत काम हो भन्दै, यस्ता सोच, शैली, अति प्रवृति उन्मुख गतिविधिहरुको किरात याक्थुङ चुम्लुङ कडा निन्दा गर्दछ । साथै दोषीलाई कानुनी दायरामा ल्याई कार्बाही गर्नको लागि स्थानीय प्रशासन, स्थानीय सरकार र नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

 

स्मरण रहोस्, सोही माङहिमका तत्कालीन माङहिम सञ्चालक समितिका सचिव टेकबहादुर अन्छङबोलाई १० वर्षे जनयुद्धमा अपहरण गरी मिति २०५९ साल बैशाखमा तत्कालीन माओवादीहरुले हत्या गरेका थिए ।