फाल्गुनन्द कर्मभूमि लब्रेकुटीमा वृक्षारोपण


पान्थर।किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको पावन कर्मभूमि पान्थरको लब्रेकुटीमा वृक्षारोपण गरिएको छ । पान्थरको फिदिम नगरपालिकास्थित धार्मिक पर्यटकीयस्थल लब्रेकुटीमा शनिबार र आइतबार वृक्षारोपण गरिएको हो ।

 

सत्य, शान्ति र अहिंसाका सूत्रधार महागुरु फाल्गुनन्दज्यूले पञ्च कन्याहरुको हातले एक सय आठ वृक्षरोपणको सुरुवात गर्नु भएको स्थल लब्रेकुटीमा वृक्षारोपण गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ पान्थरका अध्यक्ष ध्रुब तुम्बापोले बताए ।

 

किरात धर्म साहित्य उत्थान संघ पान्थर, किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटी पान्थर, चोकमागु युथ क्लब फेदेन ६ पान्थर, १७ थुम गोश्वारी युमा माङहिम लब्रेकुटी पान्थर, न्यु पाथिभरा स्पोटिङ क्लब फेदेन ६ पान्थर, जल्पादीप युवा समूह फेदेन ६, पान्थरको संयुक्त आयोजनामा वृक्षारोपण सञ्चालन गरिएको किरात साङसेन वरक चोत्लुङ माङहिमका सेवासाबा समेत रहेका संघका अध्यक्ष तुम्बापोले जनाएको छ ।

 

वृक्षारोपणमा लोक्ता, गोब्रेसल्ला, लोडसल्ला, चाँप लगायतका हजारौं बोटबिरुवाहरु रोपिएको अध्यक्ष तुम्बापोको भनाई छ । अध्यक्ष तुम्बापाका अनुसार किरात साङसेन वरक चोत्लुङ माङहिम र युमा माङहिमको जग्गा ३ सय ४७ रोपनी मध्ये २ सय ५० रोपनीमा नेपाली कागजको कच्चा पदार्थ लोक्ता रोपण गरिएको हो ।