माङसेबुङ।धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा तान लगाउने र ढाका बुन्ने तालिम समापन गरिएको छ । सहकारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ महिना सञ्चालन गरिएको कार्यक्रम आइतबार समापन गरिएको हो ।
माङसेबुङ गाउँपालिकाको वडा नं ५ को वडा सिलिङबाट आर्थिक वर्ष २०७६÷०७७ बजेट कार्यक्रम अन्तर्गत सहकारी प्रवद्र्धन कार्यक्रम शीर्षकमा विनियोजित रकमबाट तान लगाउने र ढाका बुन्ने तालिम आयोजना गरिएको आयोजक माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ ।
श्री सरस्वति मा.विको हलमा सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिकाका वडा नं ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई प्रमुख आतिथि रहनु भएको थियो । भने, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा अतिथिहरु माङगेन्ना सेवा समिति उपाध्यक्ष होमबहादुर लिङ्देन, माङगेन्ना सेवा समितिका महासचिव काकीराम लाओती, श्री सरस्वति मा.विका प्रधानाध्यापक हरी आङदेम्बे लगायत रहनु भएको थियो ।
इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा अवस्थित माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयोजनमा सञ्चालित तालिमलाई टट्बहादुर पन्धाकले सहजीकरण गरेका थिए ।
कार्यक्रममा तालिममा सहभागी मध्ये उत्कृष्ट ३ जनालाई हौसला स्वरुप पुरस्कार दिइएको छ । यसरी पुरस्कृत हुने प्रशिक्षार्थीहरु क्रमशः रेश्मा राई लिङ्देन प्रथम, सुजता चेम्जोङ द्धितीय र अम्बिका नेम्बाङ तृतीय रहेका छन् ।
२९ जनाले लिएको तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षकलाई धन्यवाद पत्र समेत प्रदान गरिएको थियो ।
माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयोजन तथा आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका सदस्य किसान खजुमले स्वागत मन्तव्य राखेका थिए भने, व्यवस्थापक चनबहादुर सेर्माले सञ्चालन गरेका थिए । कार्यक्रम समितिका उपाध्यक्ष दुधबहादुर लाओतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।