पृथ्वीलाई कसरी बचाउने सोचनीय छ : आत्मानन्द सेइङ

माङसेबुङ / किरात, बौद्ध र हिन्दु धर्महरु एक भएर विश्व शान्ति तथा मानव एकताको लागि पहल गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा समारोहमा आशीर्वचन दिनुहुँदै वहाँले सो कुरा बताउनु भएको हो ।

किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा गत फागुन ३ र ४ गते सम्पन्न शुभ जन्मोत्सव समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङले धार्मिक एकताले समुदायको एकता र विकास हुने बताउनु भयो ।

‘पृथ्वीलाई कसरी बचाउने सोचनीय बनेको छ ।’ वहाँले भन्नुभयो ‘पृथ्वीको गतिलाई प्रविधिको नाममा मानव समुदायले विगारेको छ ।’ साधुहरुको घण्टी, डमरु र नाम्धुङ लाधुङसेमी सेवाले मात्र पृथ्वीलाई जोगाउन सकिने बताउनु हुँदै अङसीमाङले सबैलाई प्रकृति सेवामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

आशीर्वचन दिने क्रममा माङसेबुङलाई विश्वको नमुना स्थलको रुपमा विकास गर्ने संकल्प गरेको समेत अङसीमाङले घोषणा गर्नु भएको छ । वहाँले मौलिक संस्कार संस्कृतिको संरक्षण र सम्बद्र्धनमा सबै लाग्न पनि आग्रह गर्नु भएको छ ।

त्यसैगरी समारोहका प्रमुख अतिथि प्रदेश नं १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले धार्मिक पर्यटकीयस्थल माङसेबुङको विकासका लागि महत्वपूर्ण सहयोग गर्ने बताइन् । शुभजन्मोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै राज्य मन्त्री गजमेरले, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी कूलतमा फसेकाहरुलाई मानव बनाउने पवित्रभूमि माङसेबुङ रहेको बताएकी छन् ।

समारोहमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतका सल्लाहकार चन्द्र कुमार लिङदेन लगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, नुमाङगेन्ना सेवा, अभिनन्दन, मिक्तोक अर्पण साथै समारोहमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद पत्र वितरण पनि गरिएको थियोे ।

त्यसैगरी किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले उत्पादन÷प्रकाशन गरेको किरात स्पन्दन भाग ७ लाई विमोचन गरिएको थियोे । यसरीनै साँझ माङगेन्ना सेवासँगै एक लाख आठ हजार दीप प्रज्वलन, माङगेन्ना चामल वितरण साथै विबिध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । नुमाङगेन्ना सेवा समारोहको क्रममा फागुन १ गते साक्मुरा वादेम्मा, २ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको मूल समारोहले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा मूल समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत तथा औचित्य समारोहका सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले राखेका थिए भने सञ्चालन समारोहका महासचिव काकीराम लाओतीले गरेका थिए ।