आत्मानन्द कप : मसिंर दोस्रो सातादेखि सञ्चालन हुने

माङसेबुङ/आत्मानन्द कपको १७ औं संस्करण खेल धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि सञ्चालन हुने भएको छ ।

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ९ देखि १७ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने महासमारोहको खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएका छन् ।

 

 

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने बिहीबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक आङबुहाङले जानकारी दिएका छन् ।

 

 

 

प्रतियोगितामा नेपालको आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, चुलाचुली स्र्पोटिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट एम.एफ.सि. दार्जिलिङ पाहुना टोलीको रुपमा खेलमा सहभागी हुने निश्चित भएको खेलकुद कार्यक्रम आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् ।

 

 

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने, उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

 

 

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मानित गरिने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

 

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

 

 

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को आयोजनामा सञ्चालित खेलकुद कार्यक्रमको संयोजन आत्मा पवित्र हक्चात यक्चुमले गर्ने छ भने, सह संयोजन युथ अफ माङसेबुङले गर्ने भएको छ ।

 

 

 

खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा महासमारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

 

 

गत वर्ष आत्मनन्द कप उपाधि माङसेबुङ गाउँपालिकाको टिमले जितेको थियो । २०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यस वर्ष ३ लाख ११ हजार १ सय ७१ रुपैयाँ पुगेको हो । प्रतियोगिता सञ्चालनका लागि लाग्ने खर्च किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने आयोजकको भनाई छ ।