पृथ्वीले आफ्नो चाल फेर्दै छ : लिङ्देन आत्मानन्द सेइङ

माङसेबुङ/पृथ्वीले आफ्नो चाल फेर्दै गरेकोले मानव जातिको आफ्नो व्यहोरा पनि विग्रिन्दै गएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ ।

 

सिसेक्पा तङनाम अवसरमा शनिबार आयोजना गरिएको जलपान समारोहमा आशीर्वचन दिनुहुँदै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले सो कुरा सुनाउनु भएको हो ।

 

‘दैविक प्रकोपहरु नआओस् भनेर हरेक समय मैले सेवा भक्ति गरिरहेको छु’ आशीर्वचन दिनुहुँदै वहाँले थप्नु भयो, ‘पृथ्वीले चाल फेर्दै छ, मान्छेको व्यहोरा पनि विग्रिन्दै छ, हामी होसियार हुनुपर्छ ।’

प्रकृति र पृथ्वीको गति विग्रिएकाले सृष्टि रक्षाका लागि सचेत भएर सबैले सेवा भक्ति गर्नुपर्ने अङसीमाङज्यूले सुनाउनु भयो । आशीर्वचनको क्रममा वहाँले प्राकृतिक विपत्ति र विश्वमा ठूलो संकट आउन सक्ने संकेत समेत गर्नु भएको छ ।

 

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको देव समुपस्थितिमा सम्पन्न कार्यक्रममा कृषि सम्बन्धी महत्वपूर्ण छलफल समेत भएको थियो ।

 

माङसेबुङको गुरु निजी आश्रम, लारुम्बामा गुरु निजी आश्रम कृषि समितिले आयोजना गरेको सिसेक्पा तङनाम जलपान समारोहमा तुम्याहाङको रुपमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

गुरु निजी आश्रम कृषि समितिका उपाध्यक्ष देउमान आङबुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव उदयविक्रम तुम्बापोले सञ्चालन गर्नु भएको थियो ।