
युके/किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा युकेको आस्फोर्ड केन्टमा किरात धर्मावलवम्बीहरुको सामूहिक माङगेन्ना सेवा सम्पन्न भएको छ ।
२५ अप्रिल २०२६ शनिबारका दिन युकेको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलवम्बीहरुको सामूहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा सम्पन्न गरिएको आयोजक किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सह सचिव निराज माबोहाङ् (टेक)ले बताएका छन् ।

किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य र किरात साम्यो माङसेवासाबा यक्पाङगेन पान्जुम्भो युकेका अध्यक्ष तथा साङदाङगेन वरुमसाबा मंगलसिं लिङ्देनको विशेष आतिथ्यमा माङगेन्ना कार्यक्रम सम्पन्न भएको हो ।
गत वर्ष झै यस वर्ष पनि आस्फोर्ड केन्टमा रहेका किरात धर्मालवम्बीहरुको बाक्लो उपस्थितिमा साङदाङगेन्न वरुमसाबा र माङसेवासाबाहरुले सामुहिक रुपमा किरात साम्जिक मुन्धुम वाचन गरी माङगेन्ना गरिएको आयोजकले जनाएको छ ।

विशेष गरी किरातीहरुले परम्परादेखि मौलिक रुपमा गर्दै आएका धार्मिक कर्म, संस्कार मध्ये माङगेन्ना एक महत्वपूर्ण कर्म संस्कार हो । माङगेन्ना भनेको शिर हो । शिरलाई सधै उच्च पवित्र राख्न माङसेवासाबाहरुद्वारा साम्जीक मुन्धुम वाचन गरेर माङगेन्ना उठाउने गरिन्छ ।
धार्मिक जनविश्वास र साम्जिक मुन्धुम अनुसार आत्मा रक्षाका लागि ६/६ महिनामा अथवा बर्षको २ पटक माङगेन्ना गर्नुपर्ने हुन्छ । यसरी माङगेन्ना गर्नाले आत्मा रक्षा हुनका साथै जीवनमा सुख, शान्ति हुने मुल्य मान्यता भएकोले हरेक वर्ष माङगेन्ना गरिने गरिन्छ । तर युकेको व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै यहाँ भने सामूहिक रुपमा वर्षमा एक पटक माङगेन्ना सेवा गरिँदै आएको आयोजकले जनाएको छ । माङगेन्ना सेवा पश्चात माङ बाजागाजा सहित तिङ्दिङ नाहेन लाक्मा कार्यक्रम गरिएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तथा केन्ट माङगेन्ना सेवा संयोजक निर्मल पतङवाको अध्यक्षतामा सम्पन्न सेवामा संघका उपाध्यक्ष केवाहाङ चेम्जोङले स्वागत मन्तव्य राखेका थिए । भने, माङगेन्ना कार्यक्रमलाई सचिव ज्ञानु फुरुम्बो ‘चरपे’ र सहसचिव निराज माबोहाङ् (टेक) ले सञ्चालन गरेको थियो ।
हरेक वर्ष युकेको विभिन्न स्थानमा बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुको सामुहिक आप्लुङगेन ताङसेप चोमेन माङगेन्ना सेवा किरात साम्जिक मुन्धुम संस्कार अनुसार हुने गरेको छ ।













