
माङसेबुङ/साढे ९ दशक अघि समाज सुधारका लागि ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गरिएको दिनको सम्झनामा विहिबार विभिन्न कार्यक्रम गरी संसारभर ९६ औं समाज सुधार दिवस मनाइएको छ ।
२० औं शताब्दीका महान समाज सुधारक, किरात धर्म दर्शनका पुनः उत्थापक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द लिङ्देनज्यूको नेतृत्व र पहलमा वि.स. १९८८ साल बैशाख २४ गते बुधबार पान्थर चोकमागुको लब्रेकुटीमा तत्कालिन १० लिम्बुवान १७ थुमका सुब्बा, जिम्मावाल, तालुकदार, भद्रभलादमी सबैलाई बोलाएर महाचुम्लुङ आयोजना गरी ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गरिएको थियो । यसरी सत्यधर्म मुचुल्का निर्माण गरिएको ९५ वर्ष पार गरेर वैशाख २४ गते ९६ वर्षमा प्रवेश गरेको अवसरमा ९६ औं समाज सुधार दिवस मनाइएको हो ।

भोजपुरमा किरातेश्वर माङखिम उद्घाटन

९६ औं समाज सुधार दिवसको अवसरमा भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा निर्माण गरिएको किरातेश्वर माङखिमलाई पुनः उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई र विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले माङखिमलाई उद्घाटन गर्नु भएको थियो ।

९६ औं समाज सुधार दिवस तथा किरातेश्वर माङखिम उद्घाटन कार्यक्रममा विशेष अतिथि भोजपुरको आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, वुद्धिजीवी एवं समाजसेवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य टट्बहादुर पन्धाक, किरात धर्म तथा साहित्य उत्थान संघ प्रान्तिय शाखा समिति भारतका अध्यक्ष पूर्णबहादुर सुनुवार, अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति सदस्य पूर्णकार्की ढोली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरलले सत्यधर्म मुचुल्का र समाज सुधार सम्बन्धि कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । भने, माङखिम निर्माणका लागि भूमिदान गर्ने धनबहादुर इशारा राई र श्रीमति कृष्णकुमारी राईलाई आयोजकले सम्मान गरेका छन् । राई दम्पतिले माङखिम निर्माणका लागि १४ रोपनी ८ आना २ पैसा २ दाम जग्गा दान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा माङलाङ, केलाङ, साकेला, तामाङसेलो लगायत विविध सांस्कृतिक प्रस्तुतिहरु पनि किरात साम्यो साक्थिम्गेन तेङगप पान्जुम्भो बेलडाँगी झापाका कलाकारहरुले प्रस्तुत गरेका थिए । कार्यक्रमको लागि अरुण नदीको कोप्चेमा साक्मुरा वादेम्मा र माङखिममा येत् नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो ।


९६ औं समाज सुधार दिवस तथा किरातेश्वर माङखिम पुनः उद्घाटन मूल समारोह समितिका अध्यक्ष सम्बरबहादुर थुलुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भोलाकाजी साम्पाङले राखेको थियो भने, कार्यक्रम चिरञ्जीवी खालिङ र सरिता राईले सञ्चालन गरेका थिए ।

किरात माङसेसे हाङसाम माङहिम समाज सुधार दिवस मनाइयो

किरात पर्व तथा ९६ औं समाज सुधार दिवस उपत्यकामा भव्य रुपले सम्पन्न भएको छ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका –८ शंखदेविस्थित किरात माङसेसे हाङसाम माङहिमको प्राङ्गणमा शुभकामना आदानप्रदान कार्यक्रम गरी समाज सुधार दिवस मनाइएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा प्रा.डा. भवानी शंकर अधिकारी, ज्योतिर्वीद डा. चन्द्रकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष निरन्ती तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्षद्धय दंगधोज खोयाहाङ, नवीन लिङ्देन, समाजसेवी भुपेन्द्र चेम्जोङ, अधिवतmा थाइन्द्र आङबुहाङ, अधिवक्ता भीम खत्री, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष सञ्चहाङ सम्बाहाङ्फे लगायतको आतिथ्यता रहेको थियो ।

१४ जना माङ्सेवासावाहरुबाट किरात साम्जिक मुन्धुम वाचन गरी येत नाम्धुङ लाधुङ् सेमी सेवा गरिएको थियो भने गोदावरी खोलामा साक्मुरा वादेम्मा गरिएको थियो ।

किरात धर्म प्राचीन सनातनी धर्म रहेको र आफू महर्जन, ज्यापुहरुको पूर्वज पनि किरात नै रहेको पाइएको प्रमुख अतिथि नगर प्रमुख चिरीबाबु महर्जन बताएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समिति, किरात साम्यो माङसेवासावा नेवाला पानजुम्भो, किरात माङसेसे हाङसाम माङहिम को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता संघ उपत्यका समिति अध्यक्ष जीवन कुमार सुनुवारले गरेका थिए भने कार्यक्रम सञ्चालन राजेन्द्र केरुङले गरेका थिए ।
लब्रेकुटीमा समाज सुधार दिवस भव्य मनाइयो

किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द लिङ्देनज्यूको कर्मभूमि तथा धार्मिक तीर्थस्थल पान्थरको लब्रेकुटी पनि विविध कार्यक्रम गरी ९६ औं समाज सुधार दिवस भव्यताका साथ मनाइएको छ ।
लब्रेकुटीमा यस वर्ष महागुरु फाल्गुनन्दज्यूले किरात साङसेन वरक चोत्लुङ माङहिम स्थापना गरी दिनु भएको शताब्दी वर्ष (एक सय) पुगेको अवसरमा शताब्दी वार्षिकोत्सव शत वार्षिकी कार्यक्रमको प्रारम्भ गर्दै ९६ औं समाज सुधार दिवस मनाइएको हो ।

आयोजक समितिका अध्यक्ष ध्रुब तुम्बापोका अनुसार राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४२ औं जन्मजयन्तीको अवसरमा आगामी कार्तिक २५ गते भव्य कार्यक्रम गरी शत वार्षिकी कार्यक्रमको समापन हुने छ ।
पान्थरका प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महागुरु फाल्गुनन्द सम्बन्धि संकथन पनि भएको थियो । सो कार्यक्रममा पाँचथर बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गाना, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जवेगु, लेखक रमेश तुम्बापोले आफ्नो धारणा राख्नु भएको थियो ।
मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको आज्ञा बमोजिम माङ्सेवासावाहरुबाट किरात साम्जिक मुन्धुम वाचन गरी विश्व शान्ति तथा मानव एकताको लागि सप्ताहव्यापी येत नाम्धुङ लाधुङ् सेमी सेवा गरिएको आयोजक समितिले जनाएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति पान्थर, किरात साङसेन वरक चोत्लुङ माङहिमको संयुक्त आयोजना र किरात साम्यो तुम्बापो समाजको व्यवस्थापनमा सम्पन्न कार्यक्रम आयोजक समिति अध्यक्ष ध्रुव तुम्बापोको अध्यक्षतामा भएको थियो ।












