माङ्सेबुङ/प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनसँग भेटदर्शन गर्न आउने नेताहरुको माङसेबुङमा बाक्लो उपस्थिती हुन थालेको छ ।
सदा अतिथि निमन्त्रणा गर्दा बाहेक नेताहरुको आवतजावत विरलै मात्र हुने माङसेबुङमा आम निर्वाचनको मिति नजिकिएसँगै गुरु भेटदर्शनका लागि राजनीतिक दलका नेताहरुको आगमन दैनिक हुन थालेको हो ।
यसरी निर्वाचन नजिकिएसँगै गुरु दर्शन गरी आशीर्वाद माग्न आउने क्रममा यसै क्षेत्रका प्रत्यासी उम्मेदवार नेकपा एमाले संसदीय दलका उप नेता संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ, नेकपा एमालेकी नेतृ, पूर्व उपसभामुख तथा पूर्व मन्त्री डा. शिवमाया तुम्बाहाङफे, पान्थर प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ पनि आइसकेका छन् ।
मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङसँग गुरु भेटदर्शन आउने नेताहरुमा मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व संविधानसभा सदस्य तथा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर चेम्जोङ, पान्थर प्रदेश क्षेत्र ‘ख’ का उम्मेद्धार प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो, झापा क्षेत्र नम्बर ५ ‘ख’ प्रदेश सभाको उम्मेद्वार रेवतीराज पुरी गगन, इलाम क्षेत्र नम्बर २ ख प्रदेश सभाका उम्मेदवार हर्कबहादुर लावती ‘कान्छा’ लगायतका उम्मेदवारले किरात धर्मगुरुसँग भेटदर्शन गरी आशीर्वाद लिएका छन् ।
त्यसैगरी निर्वाचनका प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरु निजी गुरु आश्रम इलामको माङसेबुङ ५, लारुम्बामा आई गुरु समक्ष आशीर्वाद लिने र आफ्नो प्रतिबद्धताहरु जाहेर गर्ने क्रममा युवा समाजसेवी, इलाम क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्य उम्मेदवार, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व अध्यक्ष वनेम विक्रम फागो पनि गुरु दर्शनमा आइसकेका छन् ।
यसरी गुरु दर्शनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकिकृत समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, संद्दीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, लोकतान्त्रीक समाजवादी पार्टी लगायत राजनीतिक दलका उम्मेदवारहरु पनि गुरु दर्शनमा आउने क्रम जारी रहेको छ ।