माङसेबुङमा सरकारी कामकाजमा लिम्बू भाषा प्रयोगको वार्षिकोत्सव मनाइयो


माङसेबुङ/इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ को कार्यालयमा ‘किरात लिम्बू भाषा’लाई कामकाजी भाषाको रूपमा लागू गरेको आठौं वार्षिक उत्सव मनाइएको छ ।

 

 

 

आठौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा मंसिर १३ गते वडा नं. ५ को कार्यालयमा एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाइएको हो । सो कार्यक्रममा स्थानीय तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ‚ समितिका उपाध्यक्ष होम लिङ्देन‚ गुरु निजी कानुनी सल्लाहकार एनएस फागो‚ स्थानीय नन्दकुमार नेम्बाङ, किसान खजुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

 

वडा अध्यक्ष नरेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुरेन्द्र तुम्बाहाङले स्वागत मन्तव्य राखेका थिए भने लिम्बू भाषाका पहिलो कर्मचारी सुनिल सेर्माले कार्यक्रम सञ्चालन गरेको थियो ।

 

 

यस्तै‚ बेलुकी वडा नं. ५ को सबै टोलका स्थानीयले दीप प्रज्वलन गरी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिएको दिनलाई उत्सवको रुपमा मनाएका छन् ।

 

 

 

यस वडामा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा २०७५ मंसिर १३ देखि लागू गरिएको हो । माङसेबुङ गाउँपालिका लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा मान्यता दिने नेपालकै पहिलो पालिका हो । सो समयमा गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो र वडाध्यक्ष नरेन्द्र राई थिए । राई अहिले पनि वडाध्यक्ष छन् ।

 

 

 

गाउँपालिकाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरिएको हो । यसै वर्षदेखि गाउँपालिका कार्यालयमा पनि लिम्बू भाषाका सहजकर्ता कर्मचारी नियुक्त गरिएको अध्यक्ष हेमन्त राईले जानकारी दिए ।