माङसेबुङ /किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीद्धारा विभूषित हुनु भएको छ ।
राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा यस वर्ष किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिएको हो ।
संविधान दिवसको अवसरमा नेपाल सरकारले वितरण गरेको मानपदवी, अलंकार र विभूषण वितरणका लागि नेपाल सरकारले गत भदौ २९ गते सिफारिस गरे अनुसार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङलाई प्रसिद्ध प्रवल जनसेवाश्री प्रदान गरिएको हो ।
वि.स. २०११ साल मंसिर १८ गते इलामको इभाङमा जन्मिनुभएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्म, भाषा, लिपि, साहित्य, संस्कार तथा संस्कृतिको उत्थान र संरक्षण गर्दै समाज सुधारको लागि अहोरात्र लागिपर्नु भएको छ ।
सरकारले संविधान दिवसका विभिन्न व्यक्तित्वहरुलाई विभिन्न मानपदवी, अलंकार र विभूषण प्रदान गरेको छ । मानपदवी, अलंकार र विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्नु हुनेछ ।
नेपाल सरकारप्रति हार्दिक आभार
सत्य, अहिंसा, विश्व शान्ति र मानब एकताको लागि आध्यात्म मार्गबाट धर्मगुरुज्यूबाट भइरहेको अतुलनीय योगदानको उच्च सम्मान गर्दै परम पूज्य किरात धर्मगुरु आत्मानन्द लिङ्देन प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित हुनुहुने घोषणाले विश्वभरी छरिएर रहेका किरात धर्मावलम्बी भक्तजनहरु हर्ष विभोर बनेको किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत संघका अध्यक्ष थेगिमले राज्यले किरात धर्मगुरुलाई विभूषण गरेकोमा नेपाल सरकारप्रति धन्यवाद सहित हार्दिक आभार व्यक्त गरेका छन् ।