माङसेबुङ। किरात धार्मिक स्थल माङसेबुङको भौतिक विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले बताए ।
किरात धर्म दर्शनका पुनः उत्थापक, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थान गैरीगाउँ चुक्चिनाम्बामा विश्व शान्ति र मानव एकताको कामना गर्न आइतबार आयोजित सावायेत्हाङ आप्लुङ ताङसेप सेवालाई सम्बोधन गर्ने क्रममा मन्त्री आङबुहाङले सो कुरा बताएका हुन ।
‘तीनवटै सरकारको सहकार्यमा माङसेबुङको विकास गर्नेछौं’, मन्त्री आङबुहाङले भने, ‘प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन धार्मिक पर्यटनको विकासले सहयोग पुग्नेछ ।’
माङसेबुङको विकासमा किरात धर्मगुरुको योगदान सह्राहनीय रहेको र यो अभियानमा लागेका सबैलाई मन्त्री आङबुहाङले आभार व्यक्त गर्नुभयो । कार्यक्रमका अर्का अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिमले चुक्चिनाम्बा गैरीगाउँ महागुरु फाल्गुनन्द र किरात धर्मगुरु जस्ता महापुरुषहरुको जन्मस्थान रहेको बताएका छन् । सो महान् तिर्थस्थलको विकासको निम्ति सबै पक्षसँग अध्यक्ष थेगिमले अनुरोध गरेका छन् ।
राष्ट्रिय विभूति जस्ता विशिष्ट व्यक्तिहरुको जन्म भएको सो स्थानको विकासमा राज्यले मध्य नजर गर्नु पर्ने लिम्बू विद्यार्थी मञ्चका कोषाध्यक्ष मनकुमार योङहाङले माग गरेका छन् । कार्यक्रममा किरात धर्मगुरुका कानूनी सल्लाहकार एन. एस. फागो, इलाम जिल्ला प्रशासन प्रमुख लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गोर्जा जनमुक्ति मोर्चा दार्जिलिङका अध्यक्ष विमल गुरुङसमेत उपस्थित हुनु भएको थियो । अध्यक्ष गुरुङ गुरु दर्शनका लागि नेपाल आउनुभएको थियो । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगो लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी थिए ।
धर्मगुरुबाट मन्त्री आङबुहाङलाई शुभकामना
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
शुभकामना दिनु हुँंदै अङसीमाङले सबै पक्षसँग मिलेर देश विकासमा लाग्न अनुरोध गर्नुभयो । आशीर्वचनको क्रममा अङसीमाङले विश्व शान्ति र मानव एकताको कामना गर्नुभयो । विश्वमा विकराल रुपमा रहेको कोरोनाबाट बच्न माङसेवा, स्वास्थ्य सावधानी र खानपानमा ध्यान पु¥याउन समेत अनुरोध गर्नुभयो ।
माङसेबुङ २ इभाङमा अवस्थित किरातेश्वर हाङसाम शिवालय माङहिम गैरीधाम चुक्चीनाम्बामा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको समुपस्थितिमा विश्व शान्ति र मानव एकताको निम्ति आयोजित सप्ताहव्यापी सेवामा मंगलबार भौतिक निर्माणका क्षेत्रमा सहयोग गर्नुहुने महानुभावहरुलाई फूलमालाद्धारा सम्मान गर्ने कार्यक्रम रहेको गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङले बताए ।
सो सावायेहाङ किरात आप्लुङगेन ताङसेप सेवा निजी गुरु आश्रम कृषि तथा भौतिक पूर्वाधार निमार्ण आर्थिक व्यवस्थापन समिति र र निजी गुरु आश्रम कृषि समितिको संयुक्त आयोजनामा सञ्चालन भइरहेको जनाइएको छ ।